काठमाण्डौ । जापानको राष्ट्रिय मुद्रा जापानी येन मंगलबार अमेरिकी डलरको तुलनामा १९८६ यताकै सबैभन्दा कमजोर स्तरमा पुगेको छ। प्रारम्भिक एसियाली कारोबारमा एक डलर बराबर १६२.२७ येन पुगेपछि बजारमा जापानी अधिकारीहरूले सम्भावित मुद्रा हस्तक्षेप गर्ने आशंका बढेको छ।
वित्तीय तथ्यांक प्रदायक एलआरईजीका अनुसार यो स्तर पछिल्लो चार दशकयताकै न्यून हो। यससँगै विदेशी मुद्रा बजारमा अस्थिरता बढ्दै लगेको देखिएको छ।
जापानकी वित्तमन्त्री सासुकी कातायामाले मंगलबार सरकार अत्यधिक मुद्रा उतारचढाव नियन्त्रण गर्न आवश्यक परे निर्णायक कदम चाल्न तयार रहेको बताएकी छन्। उनले जापान र संयुक्त राज्य अमेरिका बीच भएको समझदारीअनुसार उपयुक्त कदम चालिने पनि उल्लेख गरिन्।
त्यसैगरी, क्याबिनेट प्रमुख सचिव मिनोरु किहाराले सरकारले विदेशी मुद्रा उतारचढावबाट कम प्रभावित हुने आर्थिक संरचना निर्माणमा काम गरिरहेको बताए। तर उनले येनको हालको स्तरबारे प्रत्यक्ष टिप्पणी गर्न अस्वीकार गरे।
बजार विश्लेषकहरूका अनुसार जापान र अमेरिकाबीचको ब्याजदर र प्रतिफलमा ठूलो अन्तर रहेकाले लगानीकर्ताहरू अमेरिकी डलरतर्फ आकर्षित भइरहेका छन्। यसले ‘क्यारी ट्रेड’ रणनीतिलाई बल पुर्याउँदै येनमाथि थप दबाब सिर्जना गरेको छ।
यसैबीच, जापानको केन्द्रीय बैंक बैंक अफ जापानले हालै ब्याजदर १ प्रतिशतमा पुर्याएको छ, जुन पछिल्ला तीन दशकमा सबैभन्दा उच्च हो। तर अमेरिकी फेडरल रिजर्भले थप कडाइको नीति अपनाउने अपेक्षाले डलर बलियो र येन कमजोर हुने दबाब कायम रहेको विश्लेषकहरूको भनाइ छ।

