काठमाण्डौ । देशका विभिन्न क्षेत्रमा पटक–पटक विद्युत् आपूर्ति अवरुद्ध हुने समस्या बढ्दै गएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले समस्या समाधानका लागि विशेष कार्यदल गठन गरेको छ।
मन्त्रालयले सहसचिवको अध्यक्षतामा गठन गरेको कार्यदललाई विद्युत् आपूर्ति अवरोध हुनुका कारण पहिचान गर्ने, समाधानका प्रभावकारी उपाय सिफारिस गर्ने तथा कार्यान्वयनको अवस्थाबारे अनुगमन गर्ने जिम्मेवारी दिइएको छ।
कार्यदलले उपभोक्ताले भोगिरहेका विद्युत् सम्बन्धी समस्याको अध्ययन गरी त्यसको दीर्घकालीन समाधानका लागि आवश्यक सुझावसमेत दिनेछ। साथै, विद्युत् आपूर्ति व्यवस्थापनमा देखिएका कमजोरी तथा लापरबाही भए–नभएको पहिचान गरी सुधारका उपाय अघि बढाउनेछ।
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले जनताबाट आएका गुनासा र विद्युत् अवरोधसम्बन्धी समस्या तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। उनले सेवा प्रवाहमा लापरबाही वा कमजोरी देखिए आवश्यक कारबाहीको दायरामा ल्याउनसमेत निर्देशन दिएका छन्।

