काठमाण्डौ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किएर अदालतमा आत्मसमर्पण गर्ने योजना रहेको बताएकी छन्। भारतमा निर्वासनमा रहेकी हसिनाले आफू र अवामी लिगका वरिष्ठ नेताहरू स्वेच्छाले बंगलादेश फर्किने र कानुनी प्रक्रियाको सामना गर्ने बताएकी हुन्।
रोयटर्ससँगको अन्तर्वार्तामा ७८ वर्षीया हसिनाले स्वदेश फर्किँदा आफू पक्राउ पर्न सक्ने वा ज्यानसमेत जान सक्ने जोखिम रहेको स्वीकार गरेकी छन्। उनले भनिन्, ‘मलाई फर्किएपछि पक्राउ गर्न सक्छन्, मार्न पनि सक्छन्, तर पनि म जानैपर्छ। उनले आफ्नो मृत्यु भए पनि त्यो आफ्नै भूमिमा होस् भन्ने चाहना व्यक्त गरिन्।
हसिना सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि सत्ता गुमाएर बंगलादेश छाड्दै भारत पुगेकी थिइन्। त्यसपछि बंगलादेशको युद्ध अपराधसम्बन्धी अदालतले उनलाई अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाएको थियो। उनीमाथि आन्दोलन दबाउने क्रममा भएको हिंसासँग सम्बन्धित आरोप लगाइएको छ, जसलाई हसिनाले अस्वीकार गर्दै आएकी छन्।
हसिनाले अवामी लिगका पूर्वगृहमन्त्री असदुज्जमान खान कमाललगायत अन्य नेताहरूसँगै स्वदेश फर्किने बताएकी छन्। उनका अनुसार पार्टीका धेरै नेता तथा कार्यकर्तामाथि मुद्दा दायर गरिएको छ र धेरै जना लुकेर बस्न बाध्य भएका छन्।
उनले आफूविरुद्धको मुद्दा राजनीतिक रूपमा प्रेरित रहेको दाबी गर्दै अदालतको प्रक्रियाबाट वास्तविकता सार्वजनिक हुने विश्वास व्यक्त गरिन्। साथै, अवामी लिगमाथि लगाइएको प्रतिबन्धको आलोचना गर्दै जनताले नै कुनै सरकारको राम्रो–नराम्रो मूल्यांकन गर्ने अधिकार राख्ने बताइन्।
हसिनाले आफूले विगतमा पनि पटक–पटक गिरफ्तारी भोगिसकेको भन्दै जेल जाने विषयले आफूलाई चिन्तित नबनाउने बताएकी छन्। उनले बंगलादेशको लोकतन्त्र, मतदान अधिकार र राजनीतिक अधिकारका विषयमा कुनै गोप्य सम्झौता नगर्ने स्पष्ट पारेकी छन्।

