काठमाण्डौ । अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’को प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघले गम्भीर आपत्ति जनाएको छ। गीतमा प्रयोग भएका शब्द, भाव र प्रस्तुतिले शिक्षक तथा शिक्षण पेसाको मर्यादामाथि प्रहार गरेको भन्दै महासंघले यसको प्रसारण तत्काल बन्द गर्न माग गरेको हो।
महासंघको राष्ट्रिय समितिले विज्ञप्ति जारी गर्दै आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचारात्मक गीतले विशेषगरी महिला शिक्षकलाई अमर्यादित रूपमा प्रस्तुत गरेको आरोप लगाएको छ।
महासंघले विज्ञप्तिमा भनेको छ, ‘उक्त गीतले शिक्षक र शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको छ।’
महासंघले सम्बन्धित निर्माता तथा कलाकारलाई गीतको सार्वजनिक प्रसारण तत्काल रोक्न र चलचित्रमा समेत प्रयोग नगर्न आग्रह गरेको छ। गीतलाई निरन्तर प्रसारण गरिए त्यसबाट उत्पन्न हुन सक्ने असहज परिस्थिति तथा परिणामको सम्पूर्ण जिम्मेवारी चलचित्र निर्माता र सम्बन्धित कलाकारले लिनुपर्ने चेतावनीसमेत दिइएको छ।
सानोठिमी, भक्तपुरस्थित महासंघको कार्यालयबाट जारी विज्ञप्तिमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले हस्ताक्षर गरेका छन्।
शिक्षक तथा शिक्षण पेसाको प्रतिष्ठा र सम्मानमा आँच पुग्ने कुनै पनि सामग्री वा गतिविधि स्वीकार्य नहुने महासंघले स्पष्ट पारेको छ।

