काठमाण्डौ । नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै शुक्रबारदेखि सेयर कारोबारबाट प्राप्त हुने नाफामा बढाइएको पुँजीगत लाभकर लागू भएको छ।
सरकारले आर्थिक विधेयक २०८३ मार्फत आयकर ऐनको विद्यमान व्यवस्था संशोधन गर्दै सूचीकृत कम्पनीका धितोपत्र बिक्रीबाट हुने लाभमा लाग्ने कर २.५ प्रतिशत बिन्दुले बढाएको हो।
नयाँ व्यवस्थाअनुसार सेयर खरिद गरेको ३६५ दिनभन्दा बढी समयपछि बिक्री गर्ने प्राकृतिक व्यक्तिले नाफाको ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ। यस्तै, ३६५ दिन वा सोभन्दा कम अवधिमा सेयर बिक्री गर्नेले नाफाको १० प्रतिशत कर तिर्नुपर्ने भएको छ।
यसअघि दीर्घकालीन लगानीकर्ताले पाँच प्रतिशत र अल्पकालीन कारोबारीले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका थिए। नयाँ व्यवस्थाले दुवै समूहको कर २.५ प्रतिशत बिन्दुले बढाएको छ।
सरकारले बजेट वक्तव्यमा सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्ने पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा कायम गर्ने घोषणा गरेको छ। यद्यपि, आर्थिक विधेयकमा रहेको आय विवरण र आयको सीमासम्बन्धी व्यवस्थाका कारण सबै प्राकृतिक व्यक्तिका हकमा अन्तिम करको व्यवस्था समान रूपमा लागू हुने–नहुने विषयमा कर विज्ञ तथा लगानीकर्ताबीच बहस देखिएको छ।
घरजग्गाको लाभकर पनि बढ्यो
आजदेखि गैरव्यावसायिक करयोग्य सम्पत्तिका रूपमा रहेको जग्गा तथा भवन बिक्री गर्दा लाग्ने पुँजीगत लाभकरसमेत बढेको छ।
घरजग्गा पाँच वर्ष वा सोभन्दा बढी समय स्वामित्वमा राखेर बिक्री गर्दा अब नाफाको ७.५ प्रतिशत कर तिर्नुपर्नेछ। पाँच वर्षभन्दा कम अवधिमा बिक्री गरेमा १० प्रतिशत पुँजीगत लाभकर लाग्नेछ।
यसअघि पाँच वर्ष वा सोभन्दा बढी स्वामित्व रहेको घरजग्गामा पाँच प्रतिशत र पाँच वर्षभन्दा कम स्वामित्व रहेको घरजग्गामा ७.५ प्रतिशत लाभकर लाग्दै आएको थियो।
सरकारले विकास निर्माण आयोजना सञ्चालनका लागि जग्गा अधिग्रहण गर्दा भने घरजग्गा रजिस्ट्रेसन प्रयोजनका लागि तोकिएको सरकारी मूल्यांकनसम्मको रकममा पुँजीगत लाभकर नलाग्ने व्यवस्था गरेको छ।

