काठमाण्डौ । नेपाल टेलिकमका क्रियाशील ट्रेड युनियन संगठनहरुले कोभिड १९ भाइरस संक्रमण फैलन नदिन सरकारले जारी गरेको मापदण्ड विपरीत पत्रकार सम्मेलन गरेको कुरा बाहिरिएपछि यो विषयमा गृह मन्त्रालयले चासो दिएको छ । 

टेलिकमका सक्रिय युनियनहरुले आफ्ना विभिन्न मागहरु प्रस्तुत गर्ने नाममा शुक्रबार २०० भन्दा बढी मानिस भेला गरी पत्रकार सम्मेलन गरेको विषय बाहिरिएको थियो । यो विषयमा गृहमन्त्रालयका प्रवक्ता र काठमाण्डौका प्रमुख जिल्ला अधिकारीले समेत चासो दिएका थिए ।

सरकारले हाल कोभिड १९ को प्रभाव कायमै रहेको भन्दै २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । मानिसहरु भेटघाट हुँदा वा घरबाहिर निस्किँदा समेत २ मिटरको भौतिक दूरी कायम गर्नुपर्छ । तर, नेपाल टेलिकममा क्रियाशील युनियनहरुले यी सबै प्रोटोकलहरुको धज्जी उडाउँदै पत्रकार सम्मेलनको आयोजना गरेका थिए । यो विषय संचारमाध्यमहरुमा सार्वजनिक भएपछि गृह मन्त्रालयले चासो दिंदै आइतबार टेलिकम व्यवस्थापनसँग कार्यक्रमको विषयमा सोधीखोजी गरेको छ । 

अहिलेको अवस्थामा २५ जनाभन्दा बढी भेला हुन वा गराउन, पर्याप्त भौतिक दुरी कायम नगराउने काम संक्रामक रोग ऐनविपरीतका गतिविधि हुन् । यस्ता गतिविधिमा सहभागी हुनेलाई ६ महिनासम्म कैद सजाय हुनसक्छ । 

एक प्रहरी अधिकृतको नेतृत्वमा टोली पठाएर गृह मन्त्रालयले टेलिकमका एमडी डिल्ली अधिकारीलाई कोभिड १९ का लागि सरकारले जारी गरेको प्रोटोकलविपरीत टेलिकम हेडक्वार्टरमै कार्यक्रम आयोजना भएकोमा आपत्ति जनाउँदै यस्ता गतिविधि रोक्न आग्रह गरेको स्रोत दाबी गर्छ । प्रहरीले टोलीले गृहमन्त्रालयको सन्देश भन्दै शुक्रबारजस्तो कार्यक्रम नगर्न, हुन नदिन, २५ जनाभन्दा बढी भेला हुन नदिन र कर्मचारीहरुलाई पर्याप्त सामाजिक दूरी कायम गराउने विषयमा सचेत गराउन समेत आग्रह गरेको गृह स्रोतले दाबी गरेको छ । 

‘हामीले टोली पठाउँदा समेत टेलिकमका युनियनमा आबद्ध कर्मचारीहरु २५ जनाभन्दा बढी संख्यामा धर्ना बसेको पाइयो । हामीले धर्ना बस्नै परे पनि २५ जनाभन्दा कम बस्न, सामाजिक दूरी कायम गर्न भनेका छौ ।’ गृहका एक अधिकारीले भने–‘देश अप्ठ्यारो परेको बेला अनेकन माग राखेर आन्दोलन गर्नु राम्रो होइन । त्यसरी आन्दोलन गर्ने अवस्था बनाउनु पनि राम्रो होइन । यो विषयलाई टेलिकम व्यवस्थापनले पनि चाँडो व्यवस्थापन गर्नुपर्ने हामीले सुझाव दिएका छौ।’ 

गृहबाट खटिएको टोलीलाई टेलिकमका अधिकारीहरुले वार्ताको माध्यमबाट समस्या समाधानको प्रयास भइरहेको बताएका थिए । 

यो पनि पढ्नुहोस् :

टेलिकमभित्र ‘कोभिड प्रोटोकल’को धज्जी, कोरोना फैलिने डर(भिडियोसहित)