काठमाण्डौ । बजार परिसूचक(नेप्से) कारोबारको पहिलो दिन आइतबार ८.६ अंकले घटेको छ । 

नेप्सेको कारोबार प्रणाली ‘थोत्रो रेल’ झै बिग्रिएपछि लगानीकर्ताको मनोबल घट्यो, जसले कारोबार सुरुवातमा बढिरहेको बजारलाई बन्द हुँदा घट्ने अवस्थामा पुर्याइदियो । 

कारोबार भइरहेको अवस्थामा नेप्सेको ‘विश्वस्तरीय’ भनी दाबी गरिएको कारोबार प्रणालीमा समस्या आएको थियो । केही ब्रोकरहरुले लगइनमै समस्या देखिएको भन्दै नेप्सेले कारोबार १५ मिनेटसम्मका लागि रोकेको थियो । 

त्यसपछि खुलेको बजारमा समेत समस्या दोहोरिरह्यो । अपर तामाकोशीको मार्केट डेप्थमा खेलेर चलखेल भएको समाचार बिजशालामा प्रकाशित भएपछि नियोजित रुपमै मार्केट डेप्थमा खेल्ने काम भएको समेत नेप्सेस्थित स्रोतले दाबी गरेको छ । 

सो समाचार प्रकाशन भएको करिब डेढ घण्टापछिदेखि नेप्सेले मार्केट डेप्थमा समस्या आएको दाबी गर्दै त्यसमा मर्मत सुधार भइरहेको सूचना राख्यो । मार्केट डेप्थ नै लगानीकर्ताले हेर्न नमिलेपछि अनुमानको भरमा सेयर उठाउने कुरै भएन, फलस्वरुप बजारले उल्टो यात्रा सुरु गर्यो । 

यही बेला अपर तामाकोशीको सेयर मूल्यमा समेत उल्टो यात्रा सुरु भएको देखियो । मार्केट डेप्थमा कृत्रिम माग खडा गरी भइरहेको चलखेलको खुलासापछि यो कम्पनीको सेयर बिक्री गर्नेहरु बढेका देखिए । फलस्वरुप बजार बन्द हुँदा अपर तामाकोशीको सेयर मूल्यमा भीषण पहिरो गयो । यो कम्पनीको मूल्यमा ६.१० प्रतिशतको गिरावट आयो । 

दोश्रो बजारमा कारोबार खुलेदेखि दैनिकजसो पोजिटिभ सर्किट हानिरहेको अपर तामाकोशीको मूल्यमा खेल्ने काम भइरहेको र सुनियोजित ढंगले यस्तो खेल मार्केट डेप्थमा भइरहेको समाचार आजै बिजशालाले प्रकाशित गरेको थियो । (समाचार पढ्नुहोस्)

यो दिन नेप्से परिसूचक घटेर ११७९.१७ को विन्दूमा सीमित भएको छ । 

राम्रा कम्पनीको सेयरमा बिक्री चाप बढ्दा सेन्सेटिभ इण्डेक्स १.६३ प्रतिशतले घटेको छ भने समग्र कारोबार मापक फ्लट इण्डेक्समा ०.६६ अंकको गिरावट देखिएको छ । 

यो दिन तीन समूहको सूचक बढेको छ भने बाँकी समूहको सूचकमा रातो पोतिएको छ ।

व्यापार समूह २.८७ अंकले बढेको यो दिन होटल समूहमा ५.५४ अंक र बित्त समूह १.६१ अंकको बढोत्तरी भयो ।

बैंकिंग समूह ५.०६ अंकले घटेको यो दिन विकास बैंक समूहमा ११.१७ अंक, जलविद्युत समूहमा ३६.५९ अंक, निर्जीवन बिमा समूहमा ३७.६७ अंक,  जीवन बिमा समूहमा ३७.३४ अंक, माइक्रोफाइनान्समा १०.५९ अंक, उत्पादनमूलकमा ५.०८ र अन्य समूहमा ८.३६ अंकको गिरावट आयो ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ४३ कम्पनीका ११ लाख ५३ हजार  ७३ कित्ता सेयर ३६ करोड ४५ लाख ३८ हजार ७ सय ३६ रुपैयाँमा किनबेच भएको छ । 

बिक्री चापका कारण सबैभन्दा बढी अपर तामाकोशीको सेयर किनबेच भयो । यो कम्पनीले २३ करोड ४३ लाख बढीको कारोबार गर्यो ।

नागरिक लगानीकोषले २ करोड ८१ लाख बढीको कारोबार गरेको यो दिन छिमेक लघुवित्तले १ करोड ४९ लाख, माछापुच्छे बैंकले ५३ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ४५ लाख, नेपाल बैंकले ३८ लाख, एलआइसी नेपालले ३३ लाख, कुमारी बैंकले ३२ लाख, उन्नति माइक्रोफाइनान्सले ३० लाख र प्रभू बैंकले २७ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन नेशनल माइक्रोफाइनान्स बित्तीय संस्थाका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ६.०९ प्रतिशतले बढ्यो । यो कम्पनीले दोश्रो त्रैमासमा गरेको कमालको प्रगतिको प्रभाव मूल्यमा देखिएको हो । 

सबैभन्दा बढी नागरिक लगानीकोष र अपर तामाकोशीका लगानीकर्ताले गुमाए । नागरिक लगानीकोषको सेयर मूल्य ६.३३ र अपर तामाकोशीको मूल्य ६.१० प्रतिशतलले घट्यो ।