काठमाण्डौ । भारित औसत दरमा पूँजीगत लाभकर असूल्ने नाममा अनलाइन सिस्टममा प्रवेश गरिसकेको सेयर बजारलाई पुनः कागजी युगमै धकेल्ने प्रयास भएको भन्दै लगानीकर्ताले विरोध जनाएका छन् ।

नेपाल इन्भेष्टर्स फोरमले बिहीबार एक विज्ञप्ति जारी गर्दै लगानीकर्ता स्वयम्ले भारित औसत लागत निर्धारण गर्ने परिपाटीले पूँजीबजारलाई पुनः कागजी प्रक्रियामा धकेलिदिएको र लगानीकर्ताहरु पुनः ब्रोकर अफिसमै धाउनुपर्ने अव्यवहारिक अवस्था सिर्जना गरेको भन्दै तत्काल भारित औसत दरमा पूँजीगत लाभकरको निर्धारण सिडिएससीबाट नै गराउने व्यवस्था गर्न माग गरेको छ । 

गत आर्थिक वर्षमा पूँजीगत लाभकरको गणना विधि सम्बन्धमा द्विविधा भएकोले नेपाल सरकार, धितोपत्र बोर्ड, नेप्से, सिडिएससी र नेपाल इन्भेष्टर्स फोरमका प्रतिनिधि र ब्रोकर एशोसिएसनका प्रतिनिधि समेतको उपस्थितिमा भारित औसत दरको आधारमा पूँजीगत लाभकर लगाउने आपसी सहमति भई सो बमोजिम नेपाल सरकारको आर्थिक विधेयक आएको फोरमको दाबी छ । 

विधेयकमा 'लाभ गणना गर्दा जुन निकायको हित निःसर्ग हुने हो, त्यस्तो निकायमा सो मितिमा सो व्यक्तिको स्वामित्वमा रहेको हितको भारित औसत लागतको आधारमा गणना गर्नुपर्नेछ' भन्ने विषय आर्थिक विधेयकमा राखिएको र सोअनुसार स्वीकृत भइसकेकोले कागजी युगमै जाने प्रयास रोक्न समेत माग गरिएको छ । 

नेपाल सरकारले स्पष्टसँग भारित औसत दरमा पूँजीगत लाभकर निर्धारित गर्नका लागि ऐन संसोधन भई कार्यान्वयनमा गइसकेको र पूँजीबजारमा लगानी गर्ने लगानीकर्ताको सम्पूर्ण कारोबारको विवरण, लागत समेत सिडिएसी र ब्रोकर कम्प्युटर सिस्टममै  रहेको र सोअनुसार नै भारित औसत दरमा पूँजीगत लाभकर प्रविष्ट गर्ने गरी गत वर्ष सर्वपक्षीय सहमति भएको फोरमले स्मरण गराएको छ । 

भारित औसत दरमा पूँजीगत लाभकरको निर्धारण सिडिएससीबाट गराउने व्यवस्था नभए गत वर्ष झै आन्दोलनमा उत्रिने फोरमको चेतावनी छ ।

सम्बन्धित समाचार पो छुट्यो कि ?

टिप्पणी : कागजरहितबाट पुनः कागजी प्रक्रियामा दोस्रो बजार