काठमाण्डौ । त्रिभुवन विमानस्थलमा रातको समयमा यात्रुहरुमाथि दुव्र्यवहार गर्ने प्रहरी हवल्दारलाई कारबाही गरिएको छ । 

विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी हवल्दार जेएन साहलाई विमानस्थल प्रहरी प्रमुख डीआइजी कमलबहादुर घर्तिले बोलाएर स्पष्टीकरण सोधेका हुन् । 

बिजशालामा सो सम्बन्धी समाचार प्रकाशन भएलगत्तै डीआइजी घर्तिले बोलाएर प्रहरी हवल्दार साहलाई स्पष्टीकरण सोधेका थिए । सो क्रममा हवल्दार साहले आफूबाट केही गल्ती भएको स्वीकार गरेपछि आउँदा दिनहरुमा गल्ती नदोहोर्याउने शर्तमा उनलाई सचेत गराउने कारबाही भएको हो । 

‘सो दिनको विमानस्थलको सिसीटिभी फूटेज हेर्दा साहको गल्ती देखिएकोले उनलाई आउँदा दिनमा यस्तो गल्ती नदोहोर्याउने शर्तमा रेकर्डमा नदेखिने गरी सचेत गराउने कारबाही भएको छ ।’ विमानस्थल प्रहरी स्रोतले भन्यो–‘उनले आउँदा दिनमा यात्रुहरुसँग राम्रो व्यवहार गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।’ 

यो घटनासँगै डीआइजी घर्ति मातहतका सबै सुरक्षाकर्मीहरुलाई विमानस्थलमा काम गर्दा यात्रुहरुमाथि अभद्र व्यवहार नगर्न र सर्वसाधारणको सहयोगीको भूमिका निर्वाह गर्न मंगलबार नै निर्देशन समेत जारी गरेका छन् । 

सो घटना छानबिनको क्रममा प्रहरी हवल्दार विगत ७ वर्षदेखि त्रिभुवन विमानस्थलमै निरन्तर कार्यरत रहेका समेत खुलेको छ । 

गत साउन २७ गते प्रहरी हवल्दार साहले राति ९ बजेको समयमा यात्रुहरुमाथि दुव्र्यवहार गरेका थिए । सो बिषयको समाचार बिजशालाले केही बेरअघि प्रकाशित गरेको थियो । 

यो पनि पढ्नुहोस् :

त्रिभुवन विमानस्थलमा दर्जनौ यात्रुमाथि प्रहरीको दुव्यर्वहार !