काठमाण्डौ । अनलाइन कारोबार प्रणालीको मोक टेस्टिङमा ब्रोकरहरुले असहयोग गरेका नेप्सेका अधिकारीहरुले आरोप लगाएका छन् । 

शुक्रबार नेप्सेका अधिकारीहरुलाई भेट्न पुगेका नेपाल लगानीकर्ता संघका अधिकारीहरुसँग कुराकानीमा उनीहरुले ब्रोकरहरुले अनलाइन कारोबार प्रणालीमा असहयोग गरिरहेका आरोप लगाएका हुन् । 

यसअघि नेप्सेका अधिकारीहरुले आज(शुक्रबार)देखि मोक टेस्टिङ सुरु हुने बताएका थिए । यसका लागि नेप्से सम्पूर्ण रुपमा तयारी अवस्थामा बसेको, तर ब्रोकरहरुले मोक परीक्षणको मिति कम्तीमा एकसाता पछि सार्न भनेपछि आफूहरु सार्न बाध्य भएको नेप्सेका अधिकारीहरुलाई उद्धृत गर्दै लगानीकर्ता संघका अध्यक्ष नवराज सुवेदीले जानकारी दिएका छन् । 

‘नेप्सेका अधिकारीहरुसँगको कुराकानीमा मोक टेस्टिङसँगै अनलाइन कारोबार प्रणाली समयमै कार्यान्वयन गर्ने कुरामा ब्रोकरहरुको असहयोग भइरहेको गुनासो आयो ।’ अध्यक्ष सुवेदीले बिजशालासँग भने–‘हामी अनलाइन कारोबार प्रणाली कार्यान्वयनको अवस्थाको बिषयमा बुझ्न नेप्से पुगेका थियौं, भेटमा ब्रोकरहरुले नै असहयोग गरिरहेका आरोप सुनेर अचम्मित भयौ ।’ 

यसअघि समेत ब्रोकरहरुलाई अनलाइन कारोबार प्रणालीको तीव्र कार्यान्वयनको वातावरण बनाउन नेप्सेलाई असहयोग गरिरहेको आरोप लागेको थियो । नेप्सेकै केही अधिकारीले सो बेला बिजशालासँग कुरा गर्दै ब्रोकरहरुले असहयोग गरिरहेका आक्षेप लगाएका थिए । सोसँग सम्बन्धित समाचार प्रकाशन  गरेपछि स्टक ब्रोकर एशोसिएसनका केही अधिकारी आक्रोशित भएका थिए । 

शुक्रबार समेत लगानीकर्तासँग नेप्सेका जिम्मेवार अधिकारीहरुले ब्रोकरले असहयोग गरिरहेको आरोप लगाउनुलाई सामान्य रुपमा लिन नहुने स्रोतको भनाई छ । 

दशैंअघि मुश्किल
लगानीकर्ताका संघसंगठनका अधिकारीहरुको दाबीलाई मानिदिने हो भने दशैंअघिदेखि नै पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको कार्यान्वयन असंभव बन्न थालेको छ । मोक टेस्टिंग र अन्य पूर्व तयारीका कतिपय काममा नेप्सेलाई ब्रोकरहरुले लगातार असहयोग गर्दै आइरहेका र यसले दशैंअघि नै अनलाइन कारोबार प्रणाली आउने संभावनालाई टार्दै लगेको उनीहरुको विश्लेषण छ । 

कतिपय ब्रोकरहरुले साउन १ देखि सुरु भएको नेप्सेको अनलाइन परीक्षणमा सहयोग गर्नुको साटो लगानीकर्ता भड्काउने, यूजर नेम र पासवर्ड लिएर काम छैन भन्दै निरुत्साहित गर्ने गरेका आरोप समेत लाग्दै आएको छ । नेप्सेले अनलाइन प्रणालीका लागि तोकिदिएको पूर्वाधार निर्माणमा समेत उनीहरुले चासो नदिएपछि नेप्सेकै अधिकारी समेत ब्रोकरहरुको पछिल्लो भूमिकाबाट आजित बनिरहेका छन् । 

के चाहन्छन् ब्रोकर ?
नेप्सेस्थित एक उच्च स्रोतले मोक टेस्टिङ सर्नुको प्रमुख कारण ब्रोकरहरु रहेको दाबी गर्यो । स्रोतका अनुसार मोकको समय एकसाता पर सार्न उनीहरुले आग्रह गरेपछि नेप्से पनि बाध्य बनेको हो । 

स्रोतहरुका अनुसार राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत बैंकहरुलाई पनि ब्रोेकर लाइसेन्स दिन सकिने व्यवस्था गरेपछि ब्रोकरहरु तर्सिएका छन् । उनीहरु अहिले पनि कुनै पनि हालतमा बैंकहरुले ब्रोकर लाइसेन्स पाउनुहुन्न भन्ने लविङ गरिरहेका स्रोतहरु दाबी गर्छन् । राष्ट्रबैंकले आफूहरुको अनुरोधलाई नटेरी बैंकहरुले समेत ब्रोकरेजको काम गर्न पाउने नीति ल्याइदिएपछि उनीहरुले अनलाइन प्रणालीको समयमै कार्यान्वयनमा असहयोग गरिरहेका छन् । 

‘अब जुन ब्रोकरहरुले यस्तो गरिरहेका छन्, पहिचान गरेर लगानीकर्ताले त्यहाँ समेत दवाब दिन आवश्यक छ ।’ नेप्सेस्थित स्रोतले भन्यो–‘नेप्से आफ्नो काम प्रति प्रतिबद्ध छ, बजारका विकासका लागि सबै पक्षको सहयोग र सहकार्य हुनुपर्दछ ।’ 

यो पनि पढ्नुहोस् :

अनलाइन प्रणालीमा ब्रोकरको खेल, समयमै आउन नदिने यस्तो झेल!