काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले अनाधिकृत व्यक्तिलाई कार्यालय प्रवेश गराई दैनिक कार्य सञ्चालन गराएको भन्ने विषयमा समाचार प्रकाशित भएपछि कर्मचारीहरुले सत्यतथ्य छानबिन गर्न माग गरेका छन्। 

नेप्से कर्मचारी संघले आज एक विज्ञप्ति जारी गर्दै यस विषयमा सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेको हो। ‘नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृतले अनाधिकृत व्यक्तिलाई कार्यालय प्रवेश गराई दैनिक कार्य सञ्चालन गराएको भन्ने विषयप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ। 

घटनाको सम्बन्धित निकायबाट निष्पक्ष छानबिन गरी सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा कारबाही गर्न पनि संघले माग गरेको छ। 

गत माघ २३ गते बिजशालामा ‘ विज्ञ प्रयोग गरी नेप्सेका सीइओले ‘सम्वेदनशील सूचना’को व्यापार गरेको सङ्गीन आरोप’ शीर्षकमा समाचार प्रकाशित भएको थियो। 

समाचारमा नेप्सेमा गैरआधिकारिक व्यक्तिलाई प्रवेश गराएर सूचीकृत कम्पनीहरुको संवेदनशील सूचनाहरुमा व्यापक चलखेल भइरहेको संगीन आरोप नेतृत्वमाथि लागेको उल्लेख छ। 

नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण कार्कीले गलत ढंगले एक विज्ञलाई नेप्सेमा छिराएर अनधिकृत रुपमा कम्पनीहरुको संवेदनशील सूचनाहरुको व्यापार गरिरहेका संगीन आरोप लागेको छ ।

यो पनि पढ्नुहोस्– 'विज्ञ प्रयोग गरी नेप्सेका सीइओले ‘सम्वेदनशील सूचना’को व्यापार गरेको सङ्गीन आरोप'