काठमाण्डौ । मंसिर पहिलो साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालका सबै नियामक तथा अनुसन्धान गर्ने निकायलाई छलफलमा बोलाएका थिए । सो छलफलमा स्पष्ट निर्देशन थियो: सम्पत्ति शुद्धीकरणबारे अन्तर्राष्ट्रिय निगरानी गर्ने निकाय ‘फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)’ ले नेपाललाई केही महिनाअघिदेखि ‘ग्रे लिस्ट’मा राखेको छ। यो लिस्टबाट निस्किन सबै नियामकले आक्रामक मूभ लिनू !
सो छलफलमा नेपालको पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ समेत सहभागी थिए । पूँजीबजारमा सम्पत्ति शुद्धिकरणका लागि हुने गतिविधि नियन्त्रण गर्नुपर्ने, यहाँ दैनिकजसो हुने गरेको खेलोफड्को रोक्नुपर्ने र वर्षौदेखि थन्किएर बसेका अनुसन्धानसम्बन्धी फाइलहरु खोलेर आक्रामक मूभ लिनुपर्ने विषय समेत उठेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धानको सो कार्यक्रममा धितोपत्र बोर्डमा समेत वर्षौदेखि थन्किएर बसेका अनुसन्धानका फाइलहरु खोल्ने र देशलाई चाँडोभन्दा चाँडो एफएटिएफको ग्रे लिस्टबाट बाहिर निकाल्न सहयोग गर्ने प्रतिबद्धतासहित फर्किएका अध्यक्ष श्रेष्ठले रफ्तारमा काम अगाडि बढाउन सकेका छैनन् ।
धितोपत्र बोर्डमा वर्र्षाैदेखि थन्किएका अनुसन्धानका बग्रेल्ती फाइलहरुमध्ये आफूविरुद्ध व्यक्तिगत तहमै ओर्लिएर लागेको भन्दै दीपेन्द्र अग्रवालसम्बन्धी फाइल मात्र उनले हालसम्म अगाडि बढाएका छन् । अग्रवाल १० दिन हिरासत बसेर हिजै अदालतबाट धरौटीमा रिहा भइसके । तर, सेबोनमा थन्किएका(नियतवश थन्क्याइएका) दर्जनौं फाइल अगाडि बढाउने विषयमा सेबोन अध्यक्ष सुस्त देखिएका छन् ।
दीपेन्द्र अग्रवालको विषयमा गरिएको अनुसन्धान फाइल मात्र अगाडि बढाएर सीआईबी लगाई १० दिन हिरासतको बास बसाउने काम गरेका सेबोन अध्यक्ष श्रेष्ठप्रति कतिपयले प्रश्न उठाइरहेका छन्- के नेपालको सेयर बजारमा इन्साइडर ट्रेडिङ, पम्प एण्ड डम्पको खेल गरी निश्चित कम्पनीको सेयरमूल्य प्रभावित गर्ने, चलखेल गर्ने काम अग्रवालले मात्र गरेका हुन् ? अग्रवालजस्ता वा उनीभन्दा खतरनाक खेलाडी अरु कोही छैनन्?
पछिल्लो समय सेबोन अध्यक्ष श्रेष्ठ यस्ता प्रश्नहरुबाट भागिरहेका छन् । तर, सेबोनभित्र भने उनले केही फाइलहरु खोलेका गोप्य स्रोतबाट जानकारी प्राप्त भएको छ ।
श्रेष्ठले दीपेन्द्र अग्रवाल पक्राउपछि आफूमाथि आएका दवाबहरुकै कारण सेबोनमा वर्षाैदेखि थन्क्याइएका ७ वटा अनुसन्धान सम्बन्धी फाइल खोलेका छन् । 'अध्यक्ष श्रेष्ठले अहिले ती ७ वटा फाइलहरुको विषयमा कार्यालयभित्रका विभिन्न विभागीय प्रमुख, इडी, कानूनी सल्लाहकारलाई बोलाएर छलफल थालेका छन् ।' उच्च स्रोतले बिजशालासँग भन्यो- 'ती ७ वटा फाइलमा ५६ जना सेयर खेलाडीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने आवश्यकता देखिएको छ ।'
स्रोतका अनुसार ती ५६ जनालाई एकैपटक अनुसन्धानको दायरामा ल्याउँदा बजारको सेन्टिमेन्ट्समा नराम्रो प्रभाव पर्नसक्ने आँकलन समेत कतिपय इडीहरुले गरेका छन् । त्यसकारण ती फाइलहरुलाई अगाडि बढाउने क्रममा अर्जेन्ट र बढी नै गैरकानूनी काम समेटिएका फाइललाई द्रूत गतिमा अगाडि बढाउनुपर्ने विषयमा सेबोन व्यवस्थापनमा एकखालको सहमति बनेको दाबी स्रोतको छ ।
ती ५६ जना सेयर खेलाडीहरु को को हुन् भन्ने सेबोन स्रोतले खुलाएन । तर, त्यो सूचीमा धेरै नाम चलेका सेयर खेलाडी, लगानीकर्ता संघसंगठनका केही नेता, केही ब्रोकर लगायत रहेका बुझिएको छ ।
'अध्यक्षले केही सामान्य खालका चलखेलमा संलग्नमाथि जरीवानाको कारबाही गर्ने र सिरियस खालका केशमा थप अनुसन्धानका लागि सीआईबीलाई नै लेखिपठाउने कुरा गर्नुभएको छ ।' एक इडीले बिजशालासँग भने- 'बजारमा गलत गर्ने एक एकलाई नछाड्ने नेतृत्वको मनाशय देखिएको छ । हामीले पनि दीपेन्द्र अग्रवालमाथिको कारबाही पूर्वाग्रही नदेखियोस् भनेर बाँकीको फाइललाई पनि तत्काल अगाडि बढाउन भनिरहेका छौं ।'
सेबोनका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग थन्किएर बसेका अनुसन्धान सम्बन्धी फाइल तथा कामहरुमाथि आवश्यक कारबाहीको रफ्तार किन नबढाउनुभएको ? कि फाइलहरुको अध्ययनमै यत्रो समय लगाउनुभएको ? भनेर प्रश्न गरे पनि उनले यो समाचार तयार पार्दासम्म यसको जवाफ दिएका छैनन् ।
सम्बन्धित समाचारहरु :


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।