काठमाण्डौं । सरकारले बागमती नदी र यसका सहायक खोलाका किनारमा रहेका जोखिमयुक्त सार्वजनिक तथा सरकारी जमिन खाली गराउने अभियानलाई तीव्र बनाएको छ।
यस क्रममा आफूलाई सुकुम्बासी बताउने १,८१६ परिवारका ७,७८९ जना सरकारको सम्पर्कमा आएका छन्।
सहरी विकास मन्त्रालयका अनुसार तीमध्ये ७९४ जनालाई विभिन्न होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ।
दशरथ रङ्गशालामा स्थापना गरिएको स्क्रिनिङ सेन्टरमा पुगेका केही व्यक्तिहरू भने आफ्नै व्यवस्थामा बस्ने भन्दै स्वेच्छिक रूपमा बाहिरिएका छन्।
स्थानान्तरण गरिएका व्यक्तिहरूलाई काठमाडौँ र भक्तपुरका चार स्थानमा राखिएको छ, जसमा कीर्तिपुरको राधास्वामी सत्सङ्ग भवन, नयाँ बसपार्क र माछापोखरी क्षेत्रका होटल, भक्तपुरस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र तथा बोडेको कृषि तालिम केन्द्र समावेश छन्।
यी होल्डिङ सेन्टरहरूमा बसोबास, भोजन, प्राथमिक स्वास्थ्य सेवा र परामर्श सुविधा उपलब्ध गराइएको छ।
सरकारले वास्तविक भूमिहीनको पहिचान गरी दीर्घकालीन व्यवस्थापन गर्ने उद्देश्यले यो अभियान अघि बढाएको जनाएको छ।

