काठमाण्डौ । झापा इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी नाफा आर्जन गर्न सफल भएको छ । कम्पनील समीक्षा अवधिमा १ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने कम्पनी १ करोड ३४ लाख ५६ हजार रुपैयाँ घाटामा रहेको थियो।
कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । तेस्रो त्रैमाससम्म विद्युत बिक्रीमार्फत कम्पनीले ८ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले विद्युत बिक्रीबाट ६ करोड ५९ लाख रुपैयाँबराबरको आम्दानी गरेको थियो ।
यद्यपि, आम्दानीसँगै कम्पनीको खर्च संरचना पनि दबाबमा देखिएको छ। साधारण खर्च ६३ लाख ९२ हजार रुपैयाँबाट बढेर ९२ लाख ६६ हजार रुपैयाँ पुगेको छ भने प्रशासनिक खर्च ५२ लाख १ हजार रुपैयाँबाट बढेर ६८ लाख १४ हजार रुपैयाँ कायम भएको छ।
कम्पनीले यो अवधिमा २२ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।
कम्पनीको वित्त खर्च भने उल्लेख्य रूपमा घटेको छ। अघिल्लो आवको तेस्रो त्रैमाससम्म ४ करोड १४ लाख रुपैयाँ रहेको वित्त खर्च चालु आवमा घटेर २ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ।
कम्पनीको कुल चालु सम्पत्ति २ करोड ८१ लाख रुपैयाँ रहेको छ भने कुल चालु दायित्व ४ करोड ३७ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)५.६३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०२.३६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २२२.३८ रुपैयाँ र तरलता अनुपात ०.६४ प्रतिशत रहेको छ ।

