काठमाण्डौ । मध्यपूर्वमा देखिएको संकटका कारण कच्चा तेलको अभावको सामना गरेको भारत अब आफ्नै घरेलु उत्पादनमा केन्द्रीत हुने भएको छ । यतिबेला भारत सरकार आफ्नै भूमिमा कच्चा तेलको भण्डार खोज्ने अभियानमा लागेको छ ।
यसबारे भारतका केन्द्रीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले जानकारी दिएका हुन् । भारत विश्वको तेस्रो ठूलो तेल आयातकर्ता तथा एलपीजीको दोस्रो ठूलो खरिदकर्ता हो ।
भारतीय केन्द्रीय मन्त्री पुरीले इरान संकटले भारतलाई घरेलु आपूर्ति बढाउनेतर्फ नयाँ दिशा दिएको बताए । उनले भारत अब २.५ लाख वर्ग किलोमिटर क्षेत्रमा तेलको भण्डार खोज्न लागिपरेको बताए । उक्त क्षेत्रमा यसअघि खोज अन्वेषण नभएको समेत उनले जानकारी दिए ।
हाल भारतमा खपत हुने तेलका करिब १० प्रतिशत हिस्सा मात्रै स्वदेशमा उत्पादन हुने गरेको छ । बाँकी ९० प्रतिशत तेल भने अन्य देशबाट खरिद गुर्नपर्ने अवस्था रहेको छ ।
सन् २०११ मा भारतले जति तेल उत्पादन गर्थ्यो, हाल त्यो घटेर लभगभ आधामा झरेको छ । इरान अमेरिका युद्धका क्रममा भारतले तेल खरिद गर्ने राष्ट्रको संख्या २७ बाट बढाएर ४१ पुर्याएको छ । यसबीचमा भारतले रुस, इरान र भेजेजुएलाबाट अत्यधिक रुपमा तेल खरिद गर्यो ।
हालसम्म भारतमा सबैभन्दा ठूलो परिणाममा मुम्बईको समुन्द्र,गुजरात र आसानबाट तेल निकालिएको छ । तर अब भारतको नजर अन्डमान तथा निकोबार द्धिपमा रहेको छ ।
भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका अनुसार अन्डमानको समुन्द्री क्षेत्रमा तेल र ग्यासको असीमित भण्डार रहेको छ । तर समुन्द्रबाट तेल निकाल्नु एकदमै कठिन काम हो । यसका लागि भारत सरकारले विश्वका दिग्गज तथा ठूला कम्पनीहरु, एक्सकोन मोबिल र सेल जस्ता कम्पनीसँग मिलेर काम गरिहरेको छ ।
यो समग्र परियोजनालाई प्रधानमन्त्री नरेन्द्र मोदीले ‘समुन्द्र मन्थन’ को नाम दिएका छन् ।
सन् २०२१ मा भारतको दैनिक तेल आवश्यकता ५० लाख ब्यारेल रहेको थियो । जुन हाल बढेर ६० लाख ब्यारेल पुगेको छ । यो माग पुरा गर्नका लागि भारत सरकारले १० अर्ब डलरको ठूलो बजेट तयार गरेको छ । यो रकम भारतको समुन्द्री क्षेत्रमा तेलको भण्डारण खोज्न उपयोग गरिने जनाइएको छ ।

