काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले पहिलोपटक विदेशी प्रतिनिधिसँग एक्लाएक्लै भेटवार्ता गर्ने भएका छन्। सरकारको नेतृत्व सम्हालेयता कूटनीतिक भेटघाटमा अत्यन्तै छानेर अघि बढेका प्रधानमन्त्री बालेनले यसपटक एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दालाई समय दिएका हुन्।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बालेन र एडीबी अध्यक्ष कान्दाबीच मंगलबार बिहान १०ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वान–अन–वान बैठक हुने तय भएको छ। प्रधानमन्त्री बनेपछि बालेनले कुनै पनि विदेशी प्रतिनिधिसँग यसरी एक्लै औपचारिक भेटवार्ता गर्न लागेको यो पहिलो अवसर हो।
यसअघि प्रधानमन्त्री बालेनले राजनीतिक उद्देश्यसहित नेपाल आएका विदेशी प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गर्न खासै रुचि देखाएका थिएनन्। उनले विदेश सम्बन्ध र कूटनीतिक संवादको मुख्य जिम्मेवारी परराष्ट्र मन्त्रालयमार्फत अघि बढाउने नीति लिएको सरकारी अधिकारीहरू बताउँदै आएका छन्।
बालेन प्रधानमन्त्री बनेपछि नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री एस पाउल कपुर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले समेत प्रधानमन्त्रीसँग भेट पाएका थिएनन्। त्यस्तै भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण पनि प्रधानमन्त्रीसँग भेटको समय नपाएपछि अन्तिम समयमा रद्द भएको थियो।
तर, यसपटक दृश्य फरक देखिएको छ। आर्थिक विकास, पूर्वाधार, ऋण–सहयोग र लगानीसँग प्रत्यक्ष जोडिएको बहुपक्षीय दातृ निकायका प्रमुख नेपाल आउँदा प्रधानमन्त्री स्वयंले भेटका लागि समय छुट्याएका छन्। यसले बालेन सरकारको प्राथमिकता कूटनीतिक औपचारिकताभन्दा विकास वित्त, परियोजना कार्यान्वयन र आर्थिक सहकार्यतर्फ केन्द्रित भएको संकेत दिएको छ।
एडीबी अध्यक्ष कान्दा सोमबार दिउँसो काठमाडौँ आइपुग्ने कार्यक्रम छ। नेपाल आएलगत्तै उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग छुट्टाछुट्टै भेट गर्नेछन्। अर्थमन्त्री वाग्लेसँग दिउँसो ३ बजे हुने भेटपछि नेपाल र एडीबीबीच सहायता सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने कार्यक्रमसमेत तय भएको छ।
सोमबार साँझ अर्थमन्त्री वाग्लेले कान्दाको सम्मानमा विशेष रात्रिभोज आयोजना गर्ने भएका छन्। अर्थ मन्त्रालय स्रोतका अनुसार उक्त रात्रिभोज नक्सालस्थित मेरियट होटलमा हुनेछ। एडीबी अध्यक्षको नेपाल भ्रमणलाई सरकारले उच्च प्राथमिकतामा राखेको संकेत यही औपचारिक स्वागत र विशेष आतिथ्यले पनि दिएको छ।
मंगलबार बिहान प्रधानमन्त्री बालेनसँगको भेटपछि कान्दा नेपाल भ्रमण छोट्याएर फर्किने कार्यक्रम छ। यो भेटलाई केवल शिष्टाचार भेटका रूपमा मात्र नभई बालेन सरकारको आर्थिक कूटनीतिको परीक्षणका रूपमा पनि हेरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बालेन प्रधानमन्त्री बनेपछि नेपालका विकास साझेदारहरू नयाँ सरकारको आर्थिक नीति, ऋण व्यवस्थापन, पूर्वाधार प्राथमिकता र सुधार कार्यक्रमबारे स्पष्ट संकेत खोजिरहेका छन्। विगतमा विदेशी ऋणप्रति आलोचनात्मक अभिव्यक्ति दिँदै आएका बालेन र रास्वपा नेतृत्व अहिले सरकारमा पुगेपछि बहुपक्षीय दातृ निकायसँग कसरी अघि बढ्छन् भन्ने प्रश्न पनि उठ्दै आएको छ।
यही पृष्ठभूमिमा एडीबी अध्यक्षसँगको भेटले विशेष अर्थ राख्छ। प्रधानमन्त्री बालेनले राजनीतिक प्रतिनिधिभन्दा विकास वित्तीय संस्थाका प्रमुखलाई प्राथमिकता दिनुले उनको सरकारको सन्देश स्पष्ट छ—विदेश सम्बन्धको ढोका सबैका लागि खुला छैन, तर विकास, लगानी र परिणाममुखी सहकार्यका लागि सिंहदरबार तयार छ।
अब सबैको नजर मंगलबारको सिंहदरबार भेटमा केन्द्रित छ। प्रधानमन्त्री बालेन र एडीबी अध्यक्ष कान्दाबीचको संवादले नेपालमा एडीबीको आगामी लगानी, पूर्वाधार परियोजना, डिजिटल रूपान्तरण, सहुलियतपूर्ण ऋण र आर्थिक सुधारको दिशामा नयाँ संकेत दिन सक्छ।

