काठमाण्डौ । नेपालको निर्माण क्षेत्रमा लागतको दबाब थप बढेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘निर्माण क्षेत्रको आगत मूल्य सूचकांक’ सम्बन्धी तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास अर्थात् माघदेखि चैतसम्म समग्र निर्माण लागत सूचकांक १५७.६ पुगेको छ।
यो अघिल्लो त्रैमासको तुलनामा ३.६० प्रतिशतले बढी हो। निर्माण लागत बढ्नुको मुख्य कारण निर्माण सामग्रीको मूल्यमा आएको उल्लेख्य वृद्धि देखिएको छ।
प्रतिवेदनअनुसार निर्माण सामग्रीको उपसूचकांक अघिल्लो त्रैमासको तुलनामा ५.३३ प्रतिशतले बढेर १३८.६ पुगेको छ। विशेषगरी इँटाको मूल्यमा तीव्र वृद्धि देखिएको छ। इँटाको मूल्य त्रैमासिक आधारमा ९.३३ प्रतिशत र वार्षिक आधारमा १३.४१ प्रतिशतले बढेको छ। इँटाको सूचकांक १४७.२ पुगेको छ, जुन हालसम्मकै उच्च विन्दु हो।
इँटा भट्टाहरूमा देखिएको आपूर्ति अवरोध र मुख्य निर्माण सिजनमा बढेको मागका कारण इँटाको मूल्य आकासिएको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, अन्तर्राष्ट्रिय बजारमा तामाको मूल्य बढेसँगै विद्युतीय तारको मूल्यमा पनि ठूलो वृद्धि देखिएको छ। विद्युतीय तारको मूल्य वार्षिक आधारमा २४.८९ प्रतिशतले बढेको छ। फलामे डन्डी र बिलेटको मूल्य त्रैमासिक आधारमा ७.७९ प्रतिशतले बढेको छ भने सिमेन्टको मूल्य ५.०४ प्रतिशतले उकालो लागेको छ।
तर, घरजग्गा क्षेत्रमा देखिएको मन्दीका कारण ह्युम पाइप, काठ र टायलको मूल्यमा भने गिरावट आएको छ।
ज्यालादर सूचकांक २०० विन्दु माथि
निर्माण क्षेत्रमा मजदुरी खर्च पनि बढ्दो क्रममा देखिएको छ। श्रम ज्यालातर्फको सूचकांक यस त्रैमासमा २०३.० पुगेको छ। यसको अर्थ निर्माण श्रमिकको औसत ज्याला आर्थिक वर्ष २०७१/७२ को तुलनामा दोब्बरभन्दा बढी भइसकेको छ।
ज्यालादरमा त्रैमासिक आधारमा ०.९१ प्रतिशत र वार्षिक आधारमा २.८१ प्रतिशतको वृद्धि देखिएको छ। सबैभन्दा बढी ज्याला वृद्धि चित्रकार अर्थात् पेन्टरको ५.९८ प्रतिशत देखिएको छ। निर्माण क्षेत्रमा ठूलो हिस्सा ओगट्ने सामान्य श्रमिकको ज्याला भने वार्षिक आधारमा २.९७ प्रतिशतले बढेको छ।
प्रतिवेदनअनुसार माघदेखि चैतसम्मको अवधि नेपालको मुख्य निर्माण सिजन भएकाले निर्माण सामग्रीको माग उच्च रहन्छ। यही कारण सामग्रीको मूल्यमा आन्तरिक दबाब बढेको हो। आर्थिक वर्षको अन्त्यतिर सरकारी पूँजीगत खर्च तीव्र हुने प्रवृत्तिले पनि ग्याबियन वायर, जीआई पाइप र बिटुमिनजस्ता पूर्वाधार निर्माण सामग्रीको माग तथा मूल्य बढाएको देखिएको छ।
अन्तर्राष्ट्रियस्तरमा अमेरिकी महसुल नीतिमा देखिएको अन्योल र भारतीय बजारमा फलामको मूल्यमा आएको सुधारको प्रभाव नेपाली बजारमा पनि परेको प्रतिवेदनले औंल्याएको छ।
निर्माण लागतमा भएको यो वृद्धिले चालू पूर्वाधार आयोजनाहरूको लागत बढ्न सक्ने देखिएको छ। साथै, निर्माण ठेक्काहरूमा मूल्य समायोजनको आवश्यकता पर्न सक्ने संकेत पनि प्रतिवेदनले गरेको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले विशेषगरी इँटा र विद्युतीय तारको मूल्यमा देखिएको अस्वाभाविक वृद्धिलाई ध्यानमाराख्दै आपूर्ति व्यवस्थामा सुधार गर्न र आयोजनाहरूको लागत प्रक्षेपण गर्दा यस्ता पक्षलाई गम्भीरतापूर्वक समेट्न सुझाव दिएको छ।
कार्यालयले यो सूचकांक आर्थिक वर्ष २०७१/७२ लाई आधार वर्ष मानेर तयार पारिएको जनाएको छ। सूचकांकमा निर्माण सामग्रीको भार ७०.५ प्रतिशत र श्रम ज्यालाको भार २९.५ प्रतिशत रहेको छ।

