काठमाण्डौ । संघीय संसद् सचिवालयले संसदीय विषयगत समितिका बैठकमा बायोमेट्रिक प्रणालीमा आधारित विद्युतीय हाजिरी अर्थात् ई–हाजिरी सुरु गरेको छ।
प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति र संघीय संसद्को संयुक्त समिति संसदीय सुनुवाइ समितिसहित सबै विषयगत समितिमा विद्युतीय हाजिरी प्रणाली कार्यान्वयनमा ल्याइएको संसद् सचिवालयले जनाएको छ।
सचिवालयका उपसचिव एवं सूचना अधिकारी साबित्रा शर्माका अनुसार हाल समितिका बैठकमा हस्तलिखित र विद्युतीय दुवै प्रकारको हाजिरी गराइँदै आएको छ। निश्चित समयपछि हस्तलिखित व्यवस्था हटाएर विद्युतीय हाजिरीलाई मात्रै निरन्तरता दिने सचिवालयको तयारी छ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठकमा यसअघि नै सांसदहरूको विद्युतीय हाजिरी हुँदै आएको थियो। त्यसका लागि सांसदहरूको बायोमेट्रिक विवरणसमेत संकलन गरिएको छ। यद्यपि हाल संसद्का बैठकमा पनि सांसदहरूले हस्तलिखित र विद्युतीय दुवै माध्यमबाट हाजिरी गर्ने गरेका छन्।
संसद् सचिवालयका अनुसार नयाँ प्रणालीको मुख्य उद्देश्य सांसदहरूको उपस्थितिलाई व्यवस्थित र पारदर्शी बनाउनु हो। हाजिरी गरेर केही समयमै बैठकबाट बाहिरिने वा बैठकमा सहभागी नभई उपस्थितिमात्रै देखाउने प्रवृत्तिलाई नियन्त्रण गर्ने लक्ष्यसमेत राखिएको छ।
यसैबीच संसद्लाई प्रविधिमैत्री बनाउने ‘ई–पार्लामेन्ट’ अवधारणाअन्तर्गत सांसदहरूले आफ्नै सिटबाट विद्युतीय उपकरण प्रयोग गरी मतदान गर्न सक्ने व्यवस्था विकास गर्ने काम पनि भइरहेको छ।
सभामुख डोलप्रसाद अर्यालले साउन १३ गते सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा भएको भेटका क्रममा प्रतिनिधिसभामा कुनै प्रस्ताव वा विषयमाथि मतदान हुँदा सांसदहरूले बसेकै स्थानबाट विद्युतीय रूपमा मत दिन सक्ने प्रणाली निर्माणको काम भइरहेको जानकारी दिएका थिए।
ई–हाजिरी र विद्युतीय मतदान प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएपछि सांसदहरूको उपस्थिति, बैठकमा सहभागिता र मतदानसम्बन्धी विवरण थप व्यवस्थित तथा पारदर्शी हुने संसद् सचिवालयको विश्वास छ।

