काठमाण्डौ । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली तथा विदेशी चलचित्रहरूको अनधिकृत रेकर्डिङ र डिजिटल पाइरेसी नगर्न सर्वसाधारण, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा चलचित्रघर सञ्चालकलाई आग्रह गरेको छ।
बोर्डले एक विज्ञप्ति जारी गर्दै विभिन्न चलचित्रघरमा प्रदर्शन भइरहेका नेपाली, विदेशी तथा अन्य भाषाका चलचित्रहरूको दृश्य, क्लिप वा अंश मोबाइल फोन तथा अन्य विद्युतीय उपकरणमार्फत रेकर्ड गरी फेसबुक, टिकटक, इन्स्टाग्राम र टेलिग्राम लगायतका सामाजिक सञ्जाल र डिजिटल माध्यममा अपलोड तथा प्रसारण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बोर्डका अनुसार चलचित्रघरभित्र चलचित्रको कुनै पनि अंश खिच्ने, रेकर्ड गर्ने, प्रतिलिपि बनाउने, प्रसारण गर्ने वा सार्वजनिक रूपमा उपलब्ध गराउने कार्य प्रतिलिपि अधिकार ऐन, २०५९, विद्युतीय कारोबार ऐन, २०६३ तथा अन्य प्रचलित कानुनी व्यवस्था विपरीत हुन सक्छ।
विज्ञप्तिमा चलचित्र निर्माण ठूलो लगानी, दीर्घकालीन परिश्रम, सिर्जनशीलता तथा हजारौं चलचित्रकर्मीको सामूहिक योगदानको परिणाम भएकाले अनधिकृत रेकर्डिङ र डिजिटल पाइरेसीले निर्माता, निर्देशक, कलाकार, प्राविधिक, वितरक, प्रदर्शक तथा लगानीकर्तालाई प्रत्यक्ष आर्थिक क्षति पुर्याउने उल्लेख गरिएको छ। यसले नेपाली चलचित्र उद्योगको विकास, चलचित्र व्यवसाय तथा बौद्धिक सम्पत्तिको संरक्षणमा समेत नकारात्मक असर पार्ने बोर्डको भनाइ छ।
बोर्डले सामाजिक सञ्जाल वा डिजिटल माध्यममा अनधिकृत रूपमा अपलोड गरिएका चलचित्रका दृश्य वा क्लिप तत्काल हटाउन आग्रह गरेको छ।
साथै, दर्शकलाई चलचित्रघरभित्र कुनै पनि चलचित्रको भिडियो वा अडियो रेकर्डिङ नगर्न तथा यस्ता गतिविधिमा संलग्न नहुन अनुरोध गरेको छ।
त्यसैगरी, सामाजिक सञ्जाल प्रयोगकर्ता, कन्टेन्ट क्रिएटर, पेज सञ्चालक तथा डिजिटल प्लेटफर्म प्रयोगकर्तालाई प्रतिलिपि अधिकारको सम्मान गर्दै जिम्मेवार र कानुनसम्मत व्यवहार अपनाउन बोर्डले आग्रह गरेको छ।
चलचित्रघर सञ्चालक तथा प्रदर्शकलाई क्याम–रेकर्डिङ र पाइरेसी नियन्त्रणका लागि आन्तरिक निगरानी प्रणाली थप प्रभावकारी बनाउन तथा यस्ता गतिविधि देखिएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराएर आवश्यक सहयोग गर्न पनि बोर्डले अनुरोध गरेको छ।
चलचित्र विकास बोर्डले अनधिकृत रेकर्डिङ, डिजिटल पाइरेसी तथा प्रतिलिपि अधिकार उल्लङ्घनमा संलग्न व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही हुन सक्ने चेतावनीसमेत दिएको छ।

