काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई अंकित मूल्य अर्थात् प्रतिकित्ता १०० रुपैयाँमै साधारण सेयर उपलब्ध गराउन आफ्ना सदस्य प्रवर्द्धक कम्पनीहरूलाई आग्रह गरेको छ।
इप्पानले आइतबार जारी गरेको विज्ञप्तिमार्फत स्थानीय समुदायलाई प्रिमियम मूल्यमा नभई अंकित मूल्यमै सेयर उपलब्ध गराउनुपर्ने धारणा सार्वजनिक गरेको हो।
पछिल्लो समय केही जलविद्युत आयोजनाहरूको आईपीओ निष्कासन प्रक्रिया नियामक निकायका कारण ढिलाइ भइरहेको अवस्थामा केही प्रवर्द्धकहरूले स्थानीयका लागि प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने विषयमा छलफल थालेपछि इप्पानले यस्तो धारणा अघि सारेको जनाएको छ।
इप्पानले ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३’ को मर्मअनुसार आयोजनाबाट प्रभावित स्थानीय बासिन्दालाई १० प्रतिशत सेयर दिने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।
आयोजना निर्माणका क्रममा जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव सहने र निर्माण अवधिका विभिन्न असुविधा सामना गर्ने स्थानीय समुदायलाई आयोजनाको वास्तविक साझेदारका रूपमा स्थापित गर्नुपर्ने इप्पानको भनाइ छ।
इप्पानका अनुसार स्थानीयलाई प्रिमियम मूल्यमा सेयर निष्कासन गर्दा उनीहरूको पहुँच सीमित हुने, आयोजनाप्रतिको अपनत्व घट्ने र आयोजना तथा समुदायबीचको विश्वासमा नकारात्मक असर पर्न सक्ने जोखिम रहन्छ।
अंकित मूल्यमै सेयर उपलब्ध गराउँदा स्थानीय समुदायको आयोजनाप्रतिको अपनत्व बढ्ने, सामाजिक विवाद तथा अवरोध न्यूनीकरण हुने र जलविद्युत आयोजना समयमै सम्पन्न गर्न सहज वातावरण बन्ने इप्पानको विश्वास छ। यसबाट स्थानीयस्तरमा आर्थिक सशक्तीकरण र सामाजिक सद्भाव प्रवर्द्धन हुने पनि विज्ञप्तिमा उल्लेख छ।
नेपालको कुल विद्युत् उत्पादनमा निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी रहेको उल्लेख गर्दै इप्पानले साधारण सेयर निष्कासन प्रक्रियामा भइरहेको ढिलाइप्रति सरकार र नियामक निकायको ध्यानाकर्षण गराएको छ।
संस्थाले सेयर निष्कासन प्रक्रियालाई सरल, पारदर्शी र समयमै सम्पन्न हुने गरी सुधार गर्न माग गरेको छ। साथै जलविद्युत क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गर्न तथा आयोजनाहरूले भोगिरहेका वित्तीय चुनौती समाधानका लागि समयमै आईपीओ निष्कासन गर्ने व्यवस्था विकास गर्न सरकारसँग आग्रह गरेको छ।

