काठमाण्डौ । सानिमा क्यापिटल लिमिटेडकी कम्प्लायन्स अफिसर, प्रवक्ता तथा मर्चेन्ट बैंकिङ हेड रश्मी रिजालको शंकास्पद मृत्यु प्रकरणमा उनको व्यावसायिक जीवन र कार्यस्थलको वातावरणलाई समेत जोडेर अनुसन्धान सुरु भएको छ।
आफ्नै विद्युतीय गाडीमा मृत फेला परेकी रिजाल लामो समयदेखि बढुवा नपाएको तथा संस्थाभित्र आफ्नो वृत्तिविकास रोकिएको महसुस गर्दै आएको उनका केही सहकर्मीले बताएका छन्। उनीहरूको दाबीअनुसार रिजालले करिब पाँच-छ वर्षदेखि बढुवा पाएकी थिइनन्।
गत वर्ष सार्वजनिक गरिएको बढुवा सूचीमा समेत आफ्नो नाम नपरेपछि उनले कम्पनीका तत्कालीन प्रमुख कार्यकारी अधिकृतसँग गुनासो गरेकी थिइन्। तत्कालीन सीईओले राम्रो कार्यसम्पादन गर्दै गए बढुवाको अवसर आउने आश्वासन दिएको स्रोतको भनाइ छ।
चालु वर्षको बढुवा सूची तयार भइसकेको छैन। तर, यसपटक पनि आफू नेतृत्वको प्राथमिकतामा नपर्ने हो कि भन्ने आशङ्काले रिजाललाई थप निराश बनाएको हुनसक्ने उनका केही सहकर्मीको अनुमान छ। यद्यपि, उनको मृत्यु र बढुवासम्बन्धी असन्तुष्टिबीच प्रत्यक्ष सम्बन्ध पुष्टि भइसकेको छैन।
स्रोतका अनुसार लामो समय काम गरेको संस्थामा अपेक्षित जिम्मेवारी र पदोन्नति नपाएपछि रिजालले अर्को मर्चेन्ट बैंकमा जाने प्रयाससमेत गरेकी थिइन्। उनले केही मर्चेन्ट बैंकका नेतृत्वसँग सम्भावित जिम्मेवारीका विषयमा कुराकानी गरे पनि ती प्रयासले ठोस रूप लिन सकेनन्।
सानिमा क्यापिटलमा निरन्तर काम गर्दा पनि अपेक्षित वृत्तिविकास नहुनु, बढुवामा आफूलाई न्याय नभएको अनुभूति हुनु तथा नियमित जिम्मेवारीमा समेत प्राथमिकता नपरेको महसुस गर्नुले उनलाई कार्यस्थलप्रति असन्तुष्ट बनाएको हुनसक्ने सहकर्मीहरूको भनाइ छ।
संस्था परिवर्तनको प्रयाससमेत सफल नहुँदा उनमा व्यावसायिक भविष्यलाई लिएर निराशा बढेको थियो कि भन्ने पक्षमा प्रहरीले अनुसन्धान गरिरहेको स्रोत बताउँछ। प्रहरीले उनको व्यक्तिगत, पारिवारिक, आर्थिक, व्यावसायिक तथा मनोसामाजिक पृष्ठभूमिलाई समेटेर घटनाको कारण पहिल्याउने प्रयास गरिरहेको छ।
परिवारनिकट स्रोतका अनुसार पत्रकारिता विषयका लेक्चरर पति श्रीराम खनालसँग रिजालको सम्बन्ध सामान्य र राम्रो थियो। परिवारमा गम्भीर विवाद वा तनाव रहेको जानकारी पनि हालसम्म बाहिर आएको छैन। उनी सेयर बजारमा ठूलो जोखिम लिएर कारोबार गर्ने सक्रिय लगानीकर्ता पनि नरहेको सहकर्मीहरूको भनाइ छ।
यसले उनको व्यावसायिक अवस्था र कार्यस्थलमा अनुभूत गरेको सम्भावित उपेक्षालाई अनुसन्धानको एउटा पाटो बनाएको छ। तर, कुनै लिखित प्रमाण, सन्देश वा अन्य तथ्यबाट पुष्टि नभएसम्म बढुवा नहुनुलाई नै घटनाको निर्णायक कारण मान्न नमिल्ने प्रहरी स्रोतको भनाइ छ।
यस विषयमा सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास खनालले आफूले संस्थाको नेतृत्व सम्हालेको करिब ६ महिना मात्रै भएको बताए। उनको कार्यकालमा अहिलेसम्म बढुवाको कुनै सूची नबनेको र चालु वर्षको सूची निकाल्ने समयसमेत नभइसकेको उनले स्पष्ट पारे।
“मैले संस्था सम्हालेपछि उहाँले कुनै पनि दिन मसँग आफ्नो बढुवाको विषय उठाउनुभएको थिएन,” खनालले भने, “यस वर्षका लागि बढुवाको सूची तयार भएको छैन। सूची निकाल्ने समय पनि आइसकेको थिएन।”
उनका अनुसार रिजाल कम्पनीका तेस्रो वरीयतामा रहेका वरिष्ठ कर्मचारीमध्ये एक थिइन्। कम्पनीमा उनको जिम्मेवारी र पदलाई नेतृत्वले महत्त्व नदिएको भन्ने दाबी सही नभएको संकेत गर्दै खनालले घटनाबारे आधिकारिक अनुसन्धानबाट आउने निष्कर्ष कुर्नुपर्ने बताए।
रिजालको मृत्युको वास्तविक कारण भने अनुसन्धानबाटै खुल्नेछ। सहकर्मीहरूले व्यक्त गरेका धारणा र अनुमानलाई प्रहरीले सहायक सूचनाका रूपमा लिएको छ। प्रमाणबाट पुष्टि नभएसम्म संस्थागत उपेक्षा वा बढुवा नहुनुलाई मृत्युको कारणका रूपमा निष्कर्ष निकाल्नु हतार हुने देखिन्छ।
सम्बन्धित समाचारहरु :
-रश्मी रिजाल मृत्यु प्रकरणमा नयाँ तथ्यः आफैं कार लिएर गएको सीसीटीभीमा देखियो, कारण अझै अनिश्चित
-सानिमा क्यापिटलकी ‘प्रवक्ता’ कारभित्र मृत भेटिइन्, रहस्यमय घटनाको अनुसन्धानमा प्रहरी

