काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजार बढेर बन्द भएको छ । आजको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२८ प्रतिशत अर्थात ७.९० अंकले बढेर २ हजार ७३४.६३ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४५ प्रतिशतले बढेर ४७३.४७ विन्दुमा पुगेको छ ।
आज नेप्सेमा सूचीकृत ३५३ वटा स्क्रिप्टको १ करोड ३७ लाख ६९ हजार १०० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब २६ करोड ७२ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ६९ करोड ३४ लाख बढीको सेयर कारोबार भएको थियो ।
आजको बजारबारे बजार जानकार प्रकाश रजौरे भन्छन्, ‘पछिल्लो समय सेयरबजारमा विस्तारै इन्भेष्टर्स आकर्षित हुँदै गएका छन् । असार मसान्तको दबाब सकिएसँगै लगानीकर्ताहरु अब लगानीकर्ताहरु अब ‘वाइङ मूड’मा देखिएका छन् । केही ठूला व्यवसायी वा पुराना लगानीकर्ताहरुलाई अझै पनि हिसाब मिलान वा व्यवस्थापनमा प्रेसर देखिन सक्छ । तर अहिले बजार ब्यालेन्समा बसेको छ । लगानीकर्ताहरुले विस्तारै आफ्नो लिमिट पनि प्रयोग गर्न थालेका छन् । सम्भवतः साउन १५ पछि बजारमा डिमाण्ड बढ्ने देखिन्छ ।’
उनले थपे, ‘अबको एक सातापछि मार्जिन लेन्डिङ पनि आउन सक्ने देखिन्छ, जसकारण बजारमा अब विस्तारै भोल्युम र इन्डेक्स दुबै बढ्न सक्ने सम्भावना छ । साथै पूँजीबजारका लागि सरकार सकारात्मक छ, नेपाल धितोपत्र बोर्ड सर्पोटिभ देखिएको छ, जसकारण अबको केही दिनपछि बजारमा दैनिकी १० अर्बमाथिको कारोबार हुने सम्भावना छ ।’
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छायो भने अन्य ६ वटामा रातो पोतियो । आज बैंकिङ समूह सर्वाधिक बढ्यो । यो समूह आज १.१७ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह ०.९६ प्रतिशत, होटल ०.४२, लगानी ०.२९, जीवन बीमा ०.१३, लघुवित्त ०.३६ र निर्जीवन बीमा ०.०२ प्रतिशतले बढ्यो ।
आज म्युचुअल फण्ड समूह सर्वाधिक अर्थात २.०८ प्रतिशतले घट्यो । यस्तै फाइनान्स ०.१५ प्रतिशत, हाईड्रो ०.१२, उत्पादन तथा प्रशोधन ०.५९, अन्य ०.२६ र व्यापार समूह ०.३५ प्रतिशतले घट्यो ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज रिडी पावरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ३० करोड ९३ लाख बढीको सेयर कारोबार भयो । यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको २७ करोड ३४ लाख, कुमारी बैंकको २५ करोड ८१ लाख र आँखुखोला जलविद्युतको १९ करोड ६६ लाख बढीको कारोबार भयो ।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कम्पनीहरुमध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज एभरेष्ट कलर लिमिटेडको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।
यस्तै आत्मनिर्भर लघुवित्तको सेयरमूल्य १४.४६ प्रतिशत, सगरमाथा जलविद्युतको ६.८२, खानीखोल हाईड्रोको ५.९३ र झापा इनर्जीको सेयरमूल्य ५.५० प्रतिशतले बढ्यो ।
यो दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात ७.३८ प्रतिशतले घट्यो ।

