काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका कम्युनिस्ट शक्ति सत्ता र सरकारमा केन्द्रित हुँदा विरोधी शक्तिले उनीहरूविरुद्ध २० वर्षे रणनीति बनाएको दाबी गरेका छन्।
शुक्रबार पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्टहरूले वैचारिक प्रशिक्षण, दीर्घकालीन रणनीति र जनतासँगको सम्बन्धलाई कमजोर बनाउँदा अहिलेको अवस्था आएको बताए।
उनले नेपालमा कम्युनिस्टहरूको प्रभाव बढेको देखेपछि विरोधी शक्तिले उनीहरूलाई कमजोर बनाउने दीर्घकालीन योजना बनाएको दाबी गरे।
“हाम्रा वैरीहरू, नेपाल राष्ट्र र नेपाली जनताका वैरीहरू रणनीतितिर लागेछन्,” प्रचण्डले भने, “नेपालमा कम्युनिस्ट धेरै भए, यिनीहरूलाई ठिक पार्नुपर्छ भनेर २० वर्षे योजना बनाएछन्।”
विरोधी शक्तिले गतिविधि गरिरहेको केही संकेत पाए पनि नेपाललाई एकैपटक ठूलो क्षति पुर्याउने स्तरसम्म पुग्लान् भन्ने आफूहरूले नसोचेको उनले बताए।
“उनीहरू यो स्तरमा आउँदैनन् होला भन्ने भ्रम हामीले पालेछौँ,” उनले भने।
प्रचण्डका अनुसार विस्तृत शान्ति सम्झौतापछि कम्युनिस्ट शक्ति काठमाडौं केन्द्रित सत्ता राजनीतिमा बढी अल्झिए। सरकार गठन, प्रधानमन्त्री र मन्त्री बन्ने तथा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन जित्ने विषयलाई नै मुख्य रणनीतिका रूपमा लिँदा वैचारिक पक्ष कमजोर भएको उनको भनाइ छ।
“हामीले रणनीतिलाई बिर्सियौँ, छाड्यौँ वा अवमूल्यन गर्यौँ,” उनले भने, “विचार र निरन्तर स्कुलिङको आवश्यकतालाई बेवास्ता गरेर प्रधानमन्त्री, मन्त्री बन्ने र निर्वाचन जित्ने कुरालाई नै सबैथोक ठानियो।”
कम्युनिस्ट आन्दोलनको मुख्य कमजोरी सत्ता प्राप्तिलाई नै अन्तिम लक्ष्य ठान्नु रहेको उल्लेख गर्दै उनले पार्टीपंक्तिमा निरन्तर वैचारिक प्रशिक्षण र दीर्घकालीन रणनीतिको आवश्यकता औँल्याए।

