काठमाण्डौ । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएपछि स्थानीय बासिन्दासँग विवाद भएको छ।
स्थानीयका अनुसार आइतबार दिउँसो करिब साढे ३ बजे भारतीय एसएसबीका करिब ७५ जना सुरक्षाकर्मी सुस्ता गाउँपालिका–५ स्थित थारु टोल क्षेत्रमा प्रवेश गरेका थिए। तीमध्ये करिब १५ जना सादा पोसाकमा थिए भने अन्य सुरक्षाकर्मी हतियारसहित आएका थिए।
उनीहरूले उक्त क्षेत्रमा निर्माण भइरहेको १३२ मिटर लामो माटोको अस्थायी बाँध भत्काएको स्थानीयले बताएका छन्। नेपाली भूमिमा बनिरहेको बाँध भारतीय सुरक्षाकर्मीले भत्काएपछि स्थानीय बासिन्दा प्रतिवादमा उत्रिएका थिए।
सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमका अनुसार भारतीय एसएसबी दुई देशको सीमा मानिँदै आएको सिमलको रुखभन्दा करिब ३०० मिटर नेपालतर्फ प्रवेश गरेर बाँध भत्काएको हो।
स्थानीयले भारतीय सुरक्षाकर्मीलाई रोक्ने प्रयास गरे पनि ठूलो संख्यामा हतियारसहित आएका कारण नियन्त्रण गर्न नसकिएको उनले बताए। सो क्रममा स्थानीय र एसएसबीबीच विवादसमेत भएको थियो।
यसअघि गत असारमा पनि भारतीय सुरक्षाकर्मी सुस्ता क्षेत्रमा प्रवेश गरी बाँध निर्माण रोक्न दबाब दिएका थिए। भारतीय पक्षको दबाबपछि त्यसबेला निर्माण कार्य स्थगित गरिएको स्थानीयको भनाइ छ।
सुस्ता नेपाल–भारतबीच लामो समयदेखि विवादित सीमा क्षेत्रका रूपमा रहँदै आएको छ। सीमा स्तम्भको अभाव, नारायणी नदीले पटक–पटक धार परिवर्तन गर्नु र भारतीय पक्षबाट हुने हस्तक्षेपका कारण यस क्षेत्रमा सीमा विवाद दोहोरिने गरेको स्थानीय मुन्ना खाँले बताए।
भारतीय एसएसबीले बाँध भत्काएपछि सम्भावित अप्रिय घटना रोक्न नेपालको सशस्त्र प्रहरी बलको टोली पनि घटनास्थल पुगेको छ। घटनाबारे स्थानीय प्रशासन र सुरक्षा निकायले थप जानकारी सार्वजनिक गरिसकेका छैनन्।

