काठमाण्डौ । गृहमन्त्री सुदन गुरुङको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेना नेपालबीच आइतबार जनकपुरधाममा सम्पन्न वार्तापछि १९ बुँदे समझदारी भएको छ। सहमतिसँगै हिन्दू सम्राट सेना नेपालले जारी आन्दोलन तथा विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको घोषणा गरेको छ।
जनकपुरधामस्थित एक होटलमा करिब डेढ घण्टा चलेको वार्तामा संयुक्त हिन्दू मोर्चाले यसअघि सरकारलाई बुझाएको १३ बुँदे मागपत्रमा थप ६ बुँदा समावेश गर्दै १९ बुँदे सहमति गरिएको हो।
वार्तापछि हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीले सरकारले आफ्ना मागप्रति सकारात्मक धारणा व्यक्त गरेको र ती माग कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको जानकारी दिए ।
समझदारीअनुसार आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई रिहा गर्ने, उनीहरूमाथि मुद्दा नचलाउने तथा आन्दोलनका क्रममा गोली चलाउने सुरक्षाकर्मीको छानबिन गरी दोषी ठहरिए कानुनबमोजिम कारबाही गर्ने विषयमा सहमति भएको छ।
वार्तापछि गृहमन्त्री गुरुङले सरकारले पूर्ववत् १३ बुँदे तथा थप गरिएका ६ बुँदे माग औपचारिक रूपमा ग्रहण गरेको बताउँदै सहमतिका विषय कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिए।
समझदारीमा नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्रका रूपमा पुनःस्थापनासम्बन्धी विषयमा संसद्मा छलफल गराउने, धार्मिक स्थलको व्यवस्थापन, सामाजिक सञ्जालमार्फत धार्मिक तथा जातीय द्वेष फैलाउने गतिविधिमाथि कानूनी कारबाही गर्ने, सुनसरीको देवानगञ्ज घटनापछि पक्राउ परेकाहरूको मुद्दा पुनरावलोकन गर्ने, घाइतेहरूको उपचारको व्यवस्था गर्ने, धार्मिक आयोगसम्बन्धी विषयको पुनरावलोकन तथा नागरिकता छानबिनलगायतका विषय समेटिएका छन्।
त्यसैगरी, थप गरिएका बुँदामा सीमा क्षेत्रमा हुने घुसपैठ नियन्त्रणका लागि उच्चस्तरीय छानबिन गरी सुरक्षा व्यवस्था सुदृढ गर्ने, धार्मिक संस्थाहरूको आर्थिक स्रोतको अनुसन्धान गर्ने, सर्वोच्च अदालतको निर्णयअनुसार लाउडस्पिकरसम्बन्धी व्यवस्था कार्यान्वयन गर्ने तथा नागरिकता छानबिनलाई प्रभावकारी बनाउने विषय उल्लेख गरिएको छ।
सुनसरीको देवानगञ्ज घटनापछि मधेश प्रदेशमा उत्पन्न विवाद समाधानका लागि गृहमन्त्री गुरुङ नेतृत्वको टोली जनकपुरधाम पुगेको थियो। वार्तामा मधेश प्रदेशका प्रतिनिधि, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, सुरक्षा निकायका प्रमुखहरू तथा हिन्दू संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

