काठमाण्डौ । लगातार वर्षासँगै बाढी, पहिरो र भूक्षयजस्ता विपद्को सम्भावना बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आह्वान गरेको छ।
प्रशासनले आइतबार प्रकाशित गरेको जरुरी सूचनामा असोज १७ (आज) देखि २० गतेसम्म “अत्यावश्यक कारणबाहेक लामो दुरीको यात्रा नगर्नुहोस्” भन्दै राजधानी प्रवेश गर्ने तथा बाहिरिने यात्रामा विशेषगरी राति सचेत रहन अनुरोध गरेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानअनुसार आगामी केही दिन लगातार भारी वर्षा हुने र त्यसबाट जोखिमयुक्त क्षेत्रमा ठूला दुर्घटना हुन सक्ने चेतावनी दिइएको छ। विज्ञप्तिमा भनिएको छ, “सर्वसाधारणले आफ्नो स्थानमा रही सतर्कता र सावधानी अपनाउन अत्यन्तै जरुरी छ।”
त्यसैगरी, आपत्कालीन अवस्थामा उद्धार, राहत र सहयोगका लागि प्रशासनले विशेष सम्पर्क नम्बर सार्वजनिक गरेको छ, जसबाट तत्काल सहयोग पाउन सकिने व्यवस्था मिलाइएको बताइएको छ।
प्रशासनले आमनागरिकलाई सतर्कताकै माध्यमबाट विपद्लाई न्यून पार्न सकिने भन्दै “सावधानी नै सुरक्षित जीवनको मूल मन्त्र हो” भन्ने सन्देश पनि दिएको छ।
