काठमाण्डौ । देशव्यापी रूपमा असोज २० गतेसम्म वर्षा हुने मौसमविद्हरूको चेतावनीपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सडक विभागअन्तर्गतका सम्पूर्ण टोलीलाई जोखिम क्षेत्रतर्फ तुरुन्त खटिन निर्देशन दिएका छन्।
मन्त्री घिसिङले सबै डिभिजन प्रमुख र योजना प्रमुखहरूलाई आफ्ना अपरेटर र इन्जिनियरसहित आ–आफ्ना कार्यक्षेत्रमा पुगेर सम्भावित प्रकोप रोकथाम र व्यवस्थापनका लागि पूर्वतयारी गर्न आदेश दिएका हुन्।
विशेषगरी नागढुंगा-मुग्लिन, नारायणगढ-मुग्लिन, बीपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ र दाउन्ने सडकमा अझ बढी सतर्क रहनुपर्ने भन्दै उनले बैकल्पिक योजना तयार गर्न पनि आग्रह गरेका छन्।
उनको निर्देशनमा भनिएको छ:“विपद् सुरु भएपछि चाहेर पनि तत्काल पुग्न नसकिने अवस्था आउन सक्छ। त्यसैले सबै टोली आ–आफ्नो स्थानमा सुरक्षित पुगेर ब्याकअप प्लानसहित तयार रहनु बुद्धिमानी हुन्छ।”
दसैँ बिदामा समेत मन्त्री घिसिङ स्वयम् बीपी राजमार्गको अनुमगनमा खटिएका थिए, जसले सरकारको तयारीलाई अझ गम्भीर बनाएको देखिन्छ।