काठमाण्डौ । चितवन, धादिङ र तनहुँका जिल्ला प्रशासन कार्यालयहरूले शुक्रबार संयुक्त सूचना जारी गर्दै असोज २० गतेसम्म सर्वसाधारणलाई अत्यावश्यक कारण बाहेक यात्रा नगर्न आग्रह गरेका छन्।
प्रशासन कार्यालयहरूको भनाइअनुसार, यात्रा गर्नैपरे पनि रातको समयमा नगर्नु उपयुक्त हुने जनाइएको छ। मौसम पूर्वानुमान महाशाखाले गरेको प्रक्षेपणअनुसार भारी वर्षा भएमा राजमार्ग अवरुद्ध हुने सम्भावना रहेकोले यात्रामा विशेष सतर्कता अपनाउन भनिएको हो।
त्यस्तै, जरुरी अवस्थामा मात्र यात्रा गर्दा पनि सुरक्षा निकायसँग आवश्यक जानकारी लिएर मात्र यात्रा गर्न जनाइएको छ।
मालवाहक ठूला सवारी साधनसमेत असोज २० गतेसम्म न्यूनतम मात्रामा सञ्चालन गर्न आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म भारी वर्षा हुने उच्च सम्भावना रहेको जनाएको छ। विभागले वर्षा भए सडकमा बाढी, पहिरो तथा आवागमन अवरुद्ध हुनसक्ने चेतावनी दिँदै यात्रामा सचेत रहन अपिल गरेको छ।
