काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म काठमाडौं उपत्यकासहितका विभिन्न क्षेत्रमा अत्यधिक वर्षा हुने सम्भावना प्रकट गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले रातिको समयमा यात्रा नगर्न औपचारिक आग्रह गरेको छ।
प्रशासनका अनुसार उक्त अवधिमा बाढी, पहिरो, भू-क्षय र अन्य विपद्जन्य घटना हुने जोखिम उच्च रहेको हुँदा सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको हो।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ:
-“अत्यावश्यक नभई सकेसम्म लामो दुरीको यात्रा नगर्नुहोस्।
-असोज १७ देखि २० गतेसम्म आ–आफ्नो स्थानमै रही सावधानी अपनाउनुहोस्।
-काठमाडौं छाड्ने वा उपत्यकामा प्रवेश गर्ने यात्रुले विशेष गरी रातिको समयमा यात्रा नगर्नुहोस्।”
यसअघि जल तथा मौसम विज्ञान विभागले देशका धेरै भागमा अत्यधिक वर्षा र पहिरोको सम्भावना चेतावनी दिँदै, विशेष गरी नागढुङ्गा-मुग्लिन, मुग्लिन-नारायणगढ, बिपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ र दाउन्ने सडक प्रयोग गर्ने यात्रुलाई सतर्क रहन आग्रह गरेको थियो।