काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी छन्।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै पार्टी नेतृत्वको निरन्तर गल्ती र त्यसप्रति कुनै आत्मस्वीकारोक्ति नदेखिएकाले आफूलाई त्यस्तो संस्कार स्वीकार्य नभएको स्पष्ट गरेकी छन्। उनले भनेकी छन्, “गल्तीको थुप्रो लगाउँदै जानु र त्यसको बोझ सबै सदस्यलाई बोकाउन खोज्नु उचित होइन। आलोचना गर्नेहरूलाई मिडिया ट्रायलमार्फत दबाउने प्रवृत्ति बढ्दै गएको छ।”
उनका अनुसार, पार्टीले संस्थाभन्दा पनि शीर्ष नेताको रक्षा र प्रवर्द्धनलाई प्राथमिकता दिन थालेपछि आफू असहज भएको अनुभव गर्दै आएकी थिइन्। उनले टिप्पणी गरिन्, “देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्ने प्रवृत्ति सुरु भएको क्षणदेखि नै मैले विरोध जनाउँदै आएकी हुँ।”
श्रेष्ठले अन्ततः रास्वपाबाट राजीनामा दिँदै, खुला रुपमा असहमति प्रकट गर्न सहज हुने वातावरण आफैंले बनाइदिएको पनि उल्लेख गरेकी छन्।