काठमाण्डौ । नेपालको अटोमोबाइल व्यवसायीहरूको प्रमुख संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्ष पदमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन्।
नाडाले जारी गरेको निर्वाचन तालिकाअनुसार अध्यक्ष पदका लागि मनोनयन दर्ताको अन्तिम मिति आज दिउँसो १२ बजेसम्म थियो। सो समयसीमाभित्र उप्रेतीबाहेक अन्य कुनै उम्मेदवारी नपरेपछि उनी स्वतः निर्विरोध भएका हुन्।
यसअघि नाडाका महासचिवको जिम्मेवारी सम्हाल्दै आएका उप्रेती स्पेयर पार्ट्स क्षेत्रका चर्चित व्यवसायी हुन्। उनी सिएट टायरको नेपालमा वितरक एसटीसी ग्रुपका प्रबन्ध निर्देशक छन्। हालै उनले केही ब्रान्डहरूसँग सम्झौता गरी इलेक्ट्रिक सवारीसाधनहरू नेपाल भित्र्याउने तयारी पनि गरिरहेका छन्।
केन्द्रीय कार्यसमिति सदस्यहरूको निर्वाचन आगामी जनवरी ९ (पुस २५) मा हुने कार्यक्रम रहेको छ। अन्य पदाधिकारी पदहरूमा पनि निर्विरोध हुने सम्भावना देखिएको छ भने यसबारे छलफल भइरहेको नाडा स्रोतले जनाएको छ।
कार्यसमिति सदस्य पदका लागि १७ सिट आवश्यक रहे पनि १८ जनाको मनोनयन परेको छ। स्रोतका अनुसार एक जनाले मनोनयन फिर्ता लिने सहमति भइसकेको छ जसले गर्दा निर्वाचन प्रतिस्पर्धा हुनेछैन।

