काठमाण्डौ । फागुन २१ गते भएको प्रतिनिधीसभा निर्वाचनमा उम्मेदवार रहेका नेपाली कांग्रेस र नेकपा एमालेका अधिकांश पदाधिकारीहरुको संसद यात्रामा ब्रेक लागेको छ ।
देशैभरीका अधिकांश क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले विजयी हासिल गरिरहँदा चुनाव उठेका नेपाली कांग्रेसका पदाधिकारीहरु सबै पराजित भएका छन् भने नेकपा एमालेका अधिकांश पदाधिकारी तथा शीर्ष नेताहरु पराजित भइसकेका छन् ।
योसँगै अब नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुको आगामी ५ वर्षको लागि संसदको यात्रामा ब्रेक लागेको छ । नेपाली कांगे्रसका सभापति गगन थापासहित थुप्रै शीर्ष नेताहरु र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित अन्य शीर्ष नेताहरुले लज्जास्पद हार ब्यहोरेका छन् ।
नेकपा एमालेतर्फ
झापा–५ बाट उम्मेदवार बनेका एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग पराजित भए । शाहले ६८ हजार ३४८ मत ल्याएर प्रतिनिधि सभा सदस्य निर्वाचित हुँदा २०४८ सालदेखि त्यहाँबाट निर्वाचित हुँदै आएका अध्यक्ष ओलीले १८ हजार ७३४ मत मात्रै ल्याए ।
त्यस्तै, उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पनि रुपन्देही–२ बाट पराजित भए । उनी रास्वपाका सुलभ खरेलसँग ठूलो मतान्तरले पराजित भएका हुन् । खरेलले ५६ हजार ५५० मत ल्याए भने पौडेलले जम्मा १२ हजार ८६१ मात्रै मत ल्याए ।
यसका साथै अर्का शीर्ष नेता तथा उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पनि पराजित भएका छन् । उनी लमजुङबाट उम्मेदवार थिए । उनी रास्वपाका उम्मेदवार धर्मराज केसीसँग पराजित भए । केसीले ३३ हजार ८९८ मत ल्याउँदा गुरुङले जम्मा १६ हजार ८७६ मत प्राप्त गरे ।
त्यस्तै, एमाले महासचिव शंकर पोखरेल दाङ–२ बाट रास्वापका विपिनकुमार आचार्यसँग, कैलाली–४ का एमालेका उम्मेदवार लेखराज भट्ट रास्वपाका खेमराज कोइरालासँग, उपमहासचिव रघुवीर महासेठ धनुषा–३ बाट रास्वपाकै उम्मेदवार राजकिशोर महतोसँग, सचिव भानुभक्त ढकाल तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बासँग र एमालेका सचिव राजन भट्टराई काठमाण्डौं–४ बाट रास्वपाका पुकार बमसँग पराजित भए ।
यसका साथै भक्तपुर–२ बाट पनि सचिव महेश बस्नेत पराजित भए । उनी रास्वपाका राजीव खत्रीसँग पराजित भएका हुन् । खत्रीले ४२ हजार ३३४ मत ल्याउँदा उनले जम्मा १० हजार ९९६ मात्रै मत ल्याए ।
यता एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि काठमाण्डौ–५ बाट पराजित भए । उनी रास्वपाका उम्मेदवार सस्मित पोखरेलसँग भारि मतान्तरले पछि परे ।
एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवाली गुल्मी–१ बाट पराजित भए । उनी रास्वपाकै केन्द्रीय सदस्य सागर ढकालसँग पराजित भएका हुन् । ढकालले २९ हजार ६४२ मत ल्याउँदा ज्ञवालीले भने १५ हजार १८२ मत ल्याए ।
यसका साथै एमाले सचिव शेरधन रार्ई पनि भोजपुरमा पराजित भएका छन् । उनलाई श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राईले पछि पारेका हुन् । ध्रुवराजले १३ हजार ४५५ मत ल्याउँदा शेरधनले १२ हजार ५१ मत ल्याएका छन् ।
नेपाली कांग्रेसतर्फ
नेपाली कांगे्रेसतर्फ सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार थिए । उनी रास्वपाका अमरेशकुमार सिंहसँग पराजित भएका हुन् । सिंहले ३५ हजार ६८८ मत प्राप्त गर्दा थापाले भने २२ हजार ८३१ मत प्राप्त गरेका हुन् ।
त्यस्तै, महामन्त्री प्रदीप पौडेल काठमाण्डौ क्षेत्र नं.५बाट उम्मेदवार रहेकोमा रास्वपाका उम्मेदवार सस्मितसँग पराजित भए । सस्मितले ३० हजार ७३७ मत ल्याउँदा पौडेलले ९ हजार १५९ मात्रै मत प्राप्त गरे ।
त्यस्तै, महामन्त्रीद्धय गुरुराज घिमिरे पनि मोरङ ४ मा पराजित भए । उनी रास्वपाका उम्मेदवार सन्तोष राजवंशीसँग पराजित भएका हुन् । राजवंशीले ४० हजार ८३३ मत ल्याउँदा उनले जम्मा १२ हजार ८१८ मात्रै मत प्राप्त गरे ।
कांग्रेसका सहमहामन्त्री उदयशम्शेर राणा ललितपुर क्षेत्र नम्बर १ बाट पराजित भए । उनी रास्वपा उम्मेदवार बुद्धरत्न महर्जनसँग पराजित भएका हु्न् । महर्जनले २३ हजार ३ सय ७३ मत ल्याउँदा उदयले १३ हजार ५ सय २० मतमात्रै ल्याएका थिए ।
सहमहामन्त्री फरमुल्लाह मन्सुर पनि बारा–३ मा पराजित भए । उनी रास्वपाका अरबिन्द साहसँग पराजित भएका हुन् । साहले ४० हजार ६९७ मत ल्याएका थिए भने मन्सुरले जम्मा १० हजार ५२ मतमात्रै ल्याए ।
अर्का सहमहामन्त्री प्रकाश रसाइली स्नेही पनि पराजित भए । उनी एमालेका ऐनबहादुर महरसँग पराजित भएका हुन् । महरले १८ हजार ५४३ मत ल्याउँदा प्रकाशले १६ हजार ३०४ मात्रै मत ल्याए ।
डोल्पामा कांग्रेस सहमहामन्त्री कर्णबहादुर बुढा पनि धनबहादुर बुढासँग पराजित भए । धनबहादुरले ६ हजार ८०२ मत ल्याएर विजयी हुँदा कर्णबहादुर २ हजार ९४७ मतमै रोकिए ।
दाङ १ मा उम्मेदवार रहेका कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरी पनि पराजित भए । उनी रास्वपाका उम्मेदवार देवराज पाठकसँग पराजित भएका हुन् । पाठकले ४२ हजार ६०२ मतसहित निर्वाचित हुँदा चौधरीले जम्मा १५ हजार २८० मात्रै मत प्राप्त गरे ।

