काठमाण्डौ । जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई आज दिनभरमा दर्जनौ धम्कीहरु आएपछि सुरक्षा जोखिम बढेको ठहर गर्दै सुरक्षित स्थानमा सार्ने तयारी सुरु गरिएको छ ।
कार्कीको निवास भक्तपुरको गुुण्डुमा छ । शनिवार बिहान भक्तपुरको गुण्डुमै रहेका एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्की आयोगको सिफारिस बमोजिम जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । ओली पक्राउ परेपछि उनका समर्थकहरुबाट बारम्बार ज्यान मार्नेसम्मको धम्की आएको कार्कीले उजुरी गरेपछि सरकारले उनलाई सपरिवार सुरक्षित स्थानमा सार्ने विषयमा छलफल सुरु गरेको गृहस्थित उच्च स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार कार्कीलाई नेपाली सेना वा सशस्त्र प्रहरीको ब्यारेकमा सार्ने विकल्पमा छलफल भइरहेको छ । आजै निर्णय गरी मध्यरातिसम्म ब्यारेकमा सार्न सकिने बताइएको छ । यो विषयमा आधिकारिक निर्णय गर्न काठमाण्डौ जिल्लाको सुरक्षा समितिको आकस्मिक बैठक पनि बोलाइएको छ ।
कार्कीलाई अज्ञात व्यक्तिहरुबाट धम्की आउने क्रम जारी रहेको छ । यहीकारण हाल उनको निवासमा बाक्लो सुरक्षा तैनाथी गरिएको छ ।

