काठमाण्डौ ।भारतको केन्द्रीय बैंक (आरबीआई) ले पहिलोपटक नेपाल, भूटान र श्रीलङ्काका नागरिक तथा संस्थालाई प्रत्यक्ष भारतीय रुपैयाँमै ऋण लिन सक्ने व्यवस्था गरेको छ।
यसअघि भारतीय बैंक वा तिनका विदेशस्थित शाखाबाट यस्तो सुविधा उपलब्ध थिएन। तर, बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै आरबीआईले छिमेकी मुलुकलाई लक्षित नयाँ प्रावधान ल्याएको हो।
आरबीआईका गभर्नर सञ्जय मल्होत्राले यो कदम भारतीय रुपैयाँलाई अन्तर्राष्ट्रिय स्तरमा मजबुत बनाउने दीर्घकालीन योजनाको हिस्सा भएको भारतीय पत्रिका इन्डियन एक्सप्रेस लाई बताए।
नेपालका लागि लाभ
-नेपाली उद्यमी वा व्यवसायीले अब प्रत्यक्ष भारतीय बैंकमार्फत रुपैयाँ ऋण लिन सक्नेछन्।
-आयात–निर्यात तथा लगानीमा अमेरिकी डलरमाथिको निर्भरता घट्नेछ।
-सीमा पारको व्यापार तथा भुक्तानी प्रक्रियामा सहजता आउनेछ।
नेपालसँगै भूटान र श्रीलङ्काका नागरिक वा संस्थाले पनि यो सुविधा प्रयोग गर्न पाउनेछन्। विश्लेषकहरूले यसलाई भारतको रणनीतिक कदमका रूपमा लिएका छन्, जसले अमेरिकी डलरको प्रभुत्व घटाउँदै छिमेकी देशमा भारतीय रुपैयाँलाई प्रोत्साहित गर्नेछ।
यसअघि आरबीआईले विशेष रुपैयाँ भुक्तानी खाता (SRVA) मार्फत व्यापारमा रुपियाँ प्रयोगको बाटो खोलेको थियो। तर, प्रत्यक्ष कर्जा दिने सुविधा भने पहिलोपटक लागू गरिएको हो।