काठमाण्डौ । गत वर्ष असोज १० गतेदेखि परेको अविरल वर्षाको कारणले भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीहरुमा १२ अर्ब रुपैयाँ भन्दा बढीको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जेठ २८ गतेसम्ममा १४ निर्जीवन बीमा कम्पनी र ४ लघुबीमा कम्पनीमा कुल १२ अर्ब २७ करोड ५७ लाख रुपैयाँको बीमा दाबी परेको हो ।
प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले सो अवधिसम्म ४ अर्ब ८७ करोड ४२ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरिसकेका छन् । कुल ३ हजार ७१२ वटा बीमा दाबी परेकोमा बीमकहरुले सो अवधिसम्म ३ हजार ५६ वटा दाबी भुक्तानी गरिसकेका छन् ।
दाबी संख्याको आधारमा बीमा कम्पनीहरुले ८२.३२ प्रतिशत दाबी भुक्तानी गरिसकेका छन् भने रकमको आधारमा ३९.७० प्रतिशत दाबी भुक्तानी गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुमा सर्भेयरले क्षतिको मूल्यांकन गरेपश्चात् मात्रै कति दाबी भुक्तानी हुनुपर्ने हो त्यो तय गर्दछ ।
संख्याको आधारमा अब बीमा कम्पनीहरुले जम्मा १७.६८ प्रतिशत बीमाको मात्रै दाबी भुक्तानी दिन बाँकी छ भने रकमको आधारमा ६०.३० प्रतिशत भुक्तानी हुन बाँकी छ । तर प्राधिकरणका अनुसार सर्भेयरले क्षतिको मूल्यांकन गरेपछि मात्रै दाबी रकम निर्धारण हुने गर्दछ । साथै दाबी परेको सबैको भुक्तानी नहुन पनि सक्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका बीमा कम्पनीहरुले सबैभन्दा बढी सम्पत्ति बीमाको भुक्तानी गरेका छन् । सो अवधिसम्म सम्पत्ति बीमामा १ हजार ७८७ वटा दाबी परेकोमा कम्पनीहरुले कुल १ हजार ४१५ वटा दाबीको भुक्तानी गरिसकेका छन् । सम्पत्ति बीमातर्फ ८ अर्ब ४० क रोड ३९ लाख रुपैयाँको दाबी परेकोमा कम्पनीहरुले ३ अर्ब ४४ करोड २१ लाख रुपैयाँको दाबी भुक्तानी गरेका हुन् ।
त्यस्तै, इन्जिनियरिङ्ग तथा ठेकेदार जोखिम बीमातर्फ ३१९ वटा बराबरको २ अबै ९८ करोड ७४ लाख रुपैयाँको दाबी परेको छ । जसमा बीमकहरुले १९३ वटा दाबीको कुल ७० करोड ३० लाख रुपैयाँको बीमा दाबी भुक्तानी गरिसकेका छन् ।
यता मोटर बीमा (सार्वजनिक र निजी दुबै)मा भने कुल १ हजार ३४३ वटा दाबी बराबरको ७७ करोड ४४ लाख रुपैयाँ बराबरको दाबी परेकोमा बीमकहरुले १ हजार २०१ वटा बीमाको कुल ६५ करोड ४९ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरिसकेका छन् । बीमा कम्पनीहरुले मोटर बीमातर्फ दाबी संख्याको आधारमा ८९.४२ प्रतिशत दाबीको भुक्तानी गरिसकेका छन् भने दाबी रकमको आधारमा ८४.५६ प्रतिशत दाबीको भुक्तानी गरिसकेका छन् ।
यसका साथै पशुपन्छी बीमातर्फ कुल ७६ वटा बीमाको ४ करोड ५२ लाख रुपैयाँको दाबी परेकोमा बीमकहरुले ७३ वटा बीमािको ३ करोड ७१ लाख रुपैयाँको दाबी भुक्तानी गरिसकेका छन् ।
यसका साथै सामुद्रिक बीमामा २१ वटा बीमाको १ करोड ७८ लाख रुपैयाँ, कृषि बालि बीमामा १३१ वटा बीमाको १ करोड ५ लाख रुपैयाँ र विविध बीमामा २२ वटा बीमाको ८५ लाख रुपैयाँ भुक्तानी दिइसकेका छन् ।
कुन कम्पनीले कति दिए ?

स्रोतः बीमा प्राधिकरण