काठमाण्डौ । विश्वकै अग्लो शिखर सगरमाथा आरोहण गर्नका लागि ४ सय बढीले अनुमति लिएका छन् । पर्यटन विभागको तथ्यांकअनुसार आइतबारसम्म ५३ देशका ४०२ आरोहीले अनुमति लिएका हुन् ।
यी मध्ये ४१ आरोही समूह छन् । जसमा ७४ महिला आरोही छन् । अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुषसहित कूल ४१४ जनाले अनुमति लिएका थिए ।
सगरमाथा आरोहणको मुख्य सिजन वैशाख र जेठ महिनालाई मानिन्छ । सगरमाथामा आरोहणका लागि आधार शिविरदेखि तेस्रो शिविर ७ हजार मिटरसम्म बाटो खुलिसकेको छ । सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने दक्ष शेर्पा टोलीले धमाधम बाटो बनाइरहेका छन् । यसपटकको आरोहणको सुरुआत हुने बाटो बनाउने जिम्मा पाएको एटके कम्पनीले पाएको छ । तेस्रो शिविरसम्म बाटो बनेको र अब १० दिनपछि सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको सुरुआत हुने कम्पनीले जनाएको छ ।
सगरमाथा आरोहणलाई सुरक्षित, व्यवस्थित र नियमन गर्न पर्यटन विभागले सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरेको छ ।
यसवर्ष विभिन्न हिमाल आरोहणबाट वापत रु ६८ करोड ४० लाख रोयल्टी सङ्कलन भएको छ । आरोही आउनेक्रम जारी रहेकाले यो रकम अझै बढ्ने अनुमान छ ।