काठमाण्डौ । सेयर कारोबारी दीपेन्द्र अग्रवालमाथि अनुसन्धानका लागि बिहीबार प्रहरीले अदालतबाट एकदिनका लागि म्याद थप गरेको छ ।
थप अनुसन्धान आवश्यक भएको दलिल प्रहरीको तर्फबाट पेश भएपछि उनलाई थप एक दिन हिरासतमा राख्ने अनुमति जिल्ला अदालतले दिएको हो ।
धोकापूर्ण कारोबारको कसूरमा उनलाई प्रहरीले ३ दिनअघि काठमाण्डौको टोखा क्षेत्रबाट पक्राउ गरेको थियो । पक्राउ लगत्तै ३ दिन हिरासतमा राख्ने आदेश प्रहरीले पाएकोमा एकदिन समेत थपेको हो ।
अग्रवालका सहयोगीहरुका अनुसार बुधबारदेखि उनको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भू थापा लगायतले बहसमा सहभागिता जनाइरहेका छन् । थापा लगायतका अधिवक्ताहरुको साथ रहेका कारण अग्रवाल शुक्रबार नै थुनामुक्त हुने सम्भावना रहेको एक सहयोगीले जानकारी दिए ।
प्रहरीले अन्य कतैबाट अग्रवालविरुद्ध उजुरी पर्ने अपेक्षा गरे पनि त्यस्तो नभएको समेत ती सहयोगीले दाबी गरे ।
शुक्रबारसम्म पनि त्यस्ता उजुरी नआएको खण्डमा जुन प्रकरणमा अग्रवाल पक्राउ परेका हुन्, त्यसबाट चाहिँ शुक्रबार थुनामुक्त हुने सम्भावना रहेको ती सहयोगीको दाबी छ ।
दुई व्यक्तिसँग सेयर कारोबारका लागि केही करोड लिएर धोकापूर्ण ढंगले सो पैसा फिर्ता नगरेको आरोप अग्रवालमाथि छ । तर, अग्रवाल पक्षले भने सिप्ला सेक्युरिटिज नामको सेयर ब्रोकरबाट आफूहरुले ३३ करोड बढी भुक्तान लिन बाँकी रहेको र सोही प्रकरणमा जोडिएकाहरुलाई प्रयोग गरी उल्टै आफूहरुलाई अप्ठ्यारो पार्ने काम गरेको जिकिर गर्दै आएको छ।