काठमाण्डौ । सेयर कारोबारी दीपेन्द्र अग्रवाल शुक्रबार पनि छुटेनन् । उनको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले अदालतबाट थप ४ दिनका लागि म्याद थपको अनुमति पाएको छ ।
पक्राउपछि ३ दिन हिरासत बसेका उनीविरुद्ध बिहीबार एकदिनका लागि म्याद थप गरेको प्रहरीले अनुसन्धान अझै नसकिएको जिकिर गरेपछि शुक्रबार अदालतले पुनः ४ दिन म्याद थपेर अनुसन्धान अगाडि बढाउन प्रहरीलाई अनुमति दिएको हो ।
धोकापूर्ण कारोबारको कसूरमा उनलाई प्रहरीले सोमबार काठमाण्डौको टोखा क्षेत्रबाट पक्राउ गरेको थियो । पक्राउ लगत्तै ३ दिन हिरासतमा राख्ने आदेश प्रहरीले पाएकोमा बिहीबार एकदिन र शुक्रबार थप ४ दिनको म्याद थप गरेको हो ।
अग्रवालका सहयोगीहरुले अनुसार बुधबारदेखि उनको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भू थापा लगायतले बहसमा सहभागिता जनाइरहेका उल्लेख गर्दै शुक्रबार थुनामुक्त हुनसक्ने अनुमान गरेका थिए । तर त्यस्तो अनुमानविपरीत प्रहरीले अनुसन्धानलाई थप लम्ब्याएको हो ।
दुई व्यक्तिसँग सेयर कारोबारका लागि केही करोड लिएर धोकापूर्ण ढंगले सो पैसा फिर्ता नगरेको आरोप अग्रवालमाथि छ । तर, अग्रवाल पक्षले भने सिप्ला सेक्युरिटिज नामको सेयर ब्रोकरबाट आफूहरुले ३३ करोड बढी भुक्तान लिन बाँकी रहेको र सोही प्रकरणमा जोडिएकाहरुलाई प्रयोग गरी उल्टै आफूहरुलाई अप्ठ्यारो पार्ने काम गरेको जिकिर गर्दै आएको छ।