काठमाण्डौ । नेपालभरिका १५० भन्दा बढी रोटरी क्लबहरूले रोटरी प्लान्टेशन डे २०२५ मा भाग लिँदै एकैदिनमा ५० हजार भन्दा बढी बिरुवा रोपेका छन्।यो वृक्षारोपण अभियान डिस्ट्रिक्ट–व्यापी लक्ष्यअनुसार एकैदिन सम्पन्न गरिएको हो।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२, नेपाल–भूटानका डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाको नेतृत्वमा सञ्चालन गरिएको यस अभियानलाई डिस्ट्रिक्टका सबै क्षेत्रमा एकसाथ कार्यान्वयन गरिएको थियो।जलवायु परिवर्तनसँग जुध्ने र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथै रोटरीयनहरू र उनीहरूका सेवा साझेदारबीच सहकार्य र मित्रता अझ बलियो बनाउने अभियानको मूल उद्देश्य रहेको थियो।
यो केवल रूख रोप्ने होइन, आशा रोप्ने र समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाउने अभियान हो,’ गभर्नर कोइरालाले भने। ‘देशभरबाट देखिएको व्यापक सहभागिता ‘स्वार्थ भन्दा माथि सेवा’भन्ने रोटरीको लक्ष्यप्रतिको साझा प्रतिबद्धता देखेर गर्व लागेको छ।’
यस परियोजना अन्तर्गत सहरी पार्कदेखि दुर्गम पहाडी क्षेत्रसम्म, विद्यालय, सार्वजनिक स्थल, स्वास्थ्यचौकी र राजमार्ग छेउमा बिरुवाहरू रोपिएको थियो।