काठमाण्डौ । जेनजी आन्दोलनको तारो बनेको भाटभटेनी सुपरमार्केटका १६ वटा आउटलेट शनिवारदेखि सञ्चालनमा आएको छ ।
भाटभटेनी ग्राहकको नाममा एक सन्देश प्रवाह गर्दै १६ वटा आउटलेट सञ्चालनमा आएको जानकारी दिएको हो ।
सञ्चालनमा आएका आउटलेटमध्ये काठमाण्डौ उपत्यकाभित्रका ९ र बाहिरका ७ वटा रहेका छन् ।
काठमाण्डौका टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, यूनाइटेड वल्र्ड टेड सेन्टर, पाटन, कलंकी, राधेराधे र बालाजुका आउटलेटहरु सञ्चालनमा ल्याइएको छ ।
यसैगरी, काठमाण्डौबाहिर नेपालगञ्ज, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवाका आउटलेट समेत सञ्चालनमा ल्याइएको भाटभटेनीले जनाएको छ ।
भाटभटेनी व्यवस्थापनले सामाजिक सञ्जालमार्फत प्रवाह गरेको सूचनामा कयौं दिनको अनिश्चततापछि ढोका पुनः खुलेका जनाएको छ ।

कयौं दिनको अनिश्चिततापछि, हाम्रा ढोका पुनः खुलेका छन्। भाटभटेनी केवल पसल मात्र होइन, एउटा परिवार हो, तपाईंको परिवार । सन्देशमा भनिएको छः तपाईंको धैर्य, समर्थन र विश्वासका लागि धन्यवाद । हामी फेरि फर्केका छौं, तपाईंले सधैं विश्वास गर्नुभएको समान माया र प्रतिबद्धतासहित सेवा गर्न । आउनुहोस्, मिलेर अघि बढौं, उज्यालो र शान्तिपूर्ण दिनतर्फ ।
जेनजी आन्दोलनका क्रममा भाटभटेनीका २८ मध्ये ७ वटा शाखा जोगिएका थिए भने २१ वटा शाखामा क्षति पुगेको थियो । १२ वटा शाखा भवनसहित ध्वस्त भएको थियो भने बाँकी ९ वटा शाखामा तोडफोडसँगै लुटपाट मच्चाइएको थियो ।
भाटभटेनीले यो आक्रमणबाट अरबौंको क्षति व्यहोरेको छ भने त्यहाँ कार्यरत ५ हजार बढी कर्मचारी कामदारले तत्कालका लागि रोजगारी गुमाएका छन् ।
भाटभटेनीमा भएको आगजनी, लुटपाट र तोडफोडका घटनाप्रति सर्वसाधारणहरुले ठूलो संख्यामा सहानुभूति प्रकट गरिरहेका छन् । कतिपय ठाउँका स्टोरहरुमा सर्वसाधारणले नै सरसफाई गरी सञ्चालनका लागि सहयोग गरेका समेत देखिएको छ ।