काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दशौं वार्षिक साधारण सभा र बुक क्लोजको मिति तय गरेको छ । असोज ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कात्तिक २३ गते धनकुटाको हिलेमा रहेको हिले कान्जिरोवा मकालुृ होटलमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
उक्त सभामा संस्थाको सञ्चालक समितिले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा बोनस सेयर जारीपश्चात वृद्धि हुने चुक्ता तथा जारी पूँजीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरूप प्रचलित कानुनको अधिनमा रही संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन वा परिमार्जन वा समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेस गर्ने आव २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात, आव २०८१/८२ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको वित्तीय विवरण तथा सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने, ४ जना संस्थापक सेयरधनीहरु नियुक्त गर्ने र आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनको संस्थाले कात्तिक १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।