IME remit
  • शुक्रबार, कार्तिक ७,२०८२ 07:04:37
IME remit
Global IME Bank Limited

शासकको विलास र जनताको निराशा: कहाँ जाँदैछ देश ?-भीम चन्दको विचार

Hyundai Nepal
शासकको विलास र जनताको निराशा: कहाँ जाँदैछ देश ?-भीम चन्दको विचार
Shivam Cement

-भीम चन्द

 

नेपालको इतिहासमा सत्ता र सम्पत्तिको लालचले देशको गौरवमय पहिचानलाई धमिलो बनाउने प्रयास बारम्बार भएको छ। विलासी जीवनशैलीको लोभमा डुब्ने, पुस्तौँपुस्तासम्म सम्पत्ति थुपार्ने र नभएको आडम्बर देखाउन राज्यको सम्पदा लुट्ने, अरुको हक खोस्ने, मेहनती जनता र देश विकासको नाममा मागेर देशको इज्जतलाई कुल्चने अनि आफ्नो स्वार्थका लागि अरुलाई दुख दिनेहरुको सङ्ख्या दिनानुदिन बढिरहेको छ। देशको उर्जाशील युवा जनशक्तिलाई विदेश पलायन हुन बाध्य बनाएर उनीहरुको मेहनतबाट आएको रकममा मनपरी गर्ने, देश लुट्ने, ठग्ने र गैरजिम्मेवार प्रवृत्तिका व्यक्तिहरु र तिनका अन्धसमर्थकहरुले २०७२ को संविधान र सङ्घीय गणतान्त्रिक व्यवस्थालाई "रुपान्तरण"को संज्ञा दिएका छन्। यो व्यवस्थाले केही सत्ताधारी र सम्पत्तिका भोका व्यक्तिहरुका लागि त अवश्य पनि चमत्कारिक समृद्धि ल्याएको छ। तर, देशको चीरहरण, जनताको दयनीय अवस्था र सकुनीहरुको कुटिल षड्यन्त्रले देशलाई विनाशको कगारमा पुर्‍याएको छ। यो यात्रा अन्धकारको गहिरो खाडलतर्फको डरलाग्दो यात्रा जस्तै देखिन्छ।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

ऐतिहासिक परिवर्तनको कथा

मानवीय स्वतन्त्रता, प्रजातन्त्र, मौलिक हक, अधिकारसहितको जनउत्तरदायी शासन, गुणस्तरीय सेवा-सुविधा, उन्नत जीवनस्तर, शान्ति र सुशासनको सपना बोकेर विगत ७८ वर्षमा नेपालमा झण्डै आधा दर्जन राजनीतिक व्यवस्था र संविधान परिवर्तन भए। वि.सं. २००७ मा राणाशासनको अन्त्यसँगै प्रजातान्त्रिक व्यवस्थाको स्थापना भयो, तर त्यसमा अप्रजातान्त्रिक गतिविधिहरु हावी भए। जनताबाट निर्वाचित पहिलो प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको सरकारले केही आशालाग्दा आर्थिक योजना र विकासका काम अघि सारे पनि दुई वर्ष नपुग्दै श्री ५ महेन्द्रले पञ्चायती व्यवस्था लागू गरे। पञ्चशील सिद्धान्तमा आधारित असंलग्न परराष्ट्र नीति र आत्मनिर्भरताका केही राम्रा प्रयास भए पनि जनताको अपेक्षा पूरा हुन सकेन।

२०४६ मा जनआन्दोलनमार्फत पञ्चायती व्यवस्थाको अन्त्य भई प्रजातन्त्रको पुनर्स्थापना भयो। नेपालको इतिहासमा पहिलोपटक जनतामा सार्वभौमसत्ता स्थापित भएको, विश्वमै उत्कृष्ट मानिएको संविधान बन्यो। संवैधानिक राजतन्त्रसहितको संसदीय प्रजातन्त्रमा सुरुका वर्षहरुमा शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी र सूचना सञ्चार क्षेत्रमा केही प्रगति भए। तर, जनताको बढ्दो आकाङ्क्षा, गुणस्तरीय शिक्षाको अभाव, बेरोजगारी, नातावाद, कृपावाद, राजनीतिक पहुँच र भनसुनको बोलबाला जस्ता कारणले यो व्यवस्था पनि सर्वसाधारणका लागि फलदायी बन्न सकेन। दुर्गम क्षेत्रमा राज्यको उपस्थिति न्यून रह्यो, आधारभूत आवश्यकताहरु पूरा गर्न सरकारले ध्यान दिएन। सत्ता र सम्पत्तिमा केन्द्रित राजनीतिले सरकार गठन र विघटनको खेलमात्र चल्यो। सरकारको गैरजिम्मेवारी र हिंसात्मक द्वन्द्वले जनजीवन अस्तव्यस्त बन्यो, देशको अवस्था झन् खराब हुँदै गयो।

यही बीचमा श्री ५ ज्ञानेन्द्रको सक्रिय राजतन्त्रको अभ्यास भयो, जसको विरोधमा भएको आन्दोलनले संसद् पुनर्स्थापना र गणतान्त्रिक व्यवस्था ल्याए पनि देशद्रोही र गैरजिम्मेवार गतिविधिहरुले निरन्तरता पाए। नयाँ पुस्ता, जसलाई जेन्जी भनिन्छ, आधुनिक प्रविधिमा अभ्यस्त र आफ्ना हकअधिकारप्रति सचेत भए पनि अनुभवको कमी र भ्रष्ट शासकीय संयन्त्रले आजित भएर विद्रोहमा उत्रियो। तर, त्यसपछि बनेको सरकारका गतिविधिहरु पनि सन्तोषजनक छैनन्।

चमत्कारिक समृद्धिको भ्रम

संविधान फेरिए, ऐन-कानुन परिवर्तन भए, शासक र शासन प्रणाली बदलिए, तर सकारात्मक परिवर्तनको सट्टा शासकहरुको जीवनशैलीमा मात्र चमत्कारिक परिवर्तन देखियो। साइकल चढ्ने हैसियत नभएका व्यक्तिहरु केही वर्षमै पजेरो र हवाइजहाज किन्ने हैसियतमा पुगे। गरिबीको रेखामुनि रहेका नेताहरु सामन्ती र विलासी जीवनशैलीमा उक्लिए। देशको आर्थिक प्रगति बिना शासक र प्रशासकहरुको सम्पत्तिमा भएको यो चमत्कार भ्रष्टाचार र गैरजिम्मेवारीको पराकाष्ठा हो।

यदि मेहनती जनता, उद्यमी, व्यवसायी, किसान र श्रमजीवीहरुको आर्थिक अवस्थामा पनि सुधार भएको भए, बिहान-बेलुकी छाक टार्न र लुगा लगाउन मुस्किल पर्नेहरुको आयआर्जनमा वृद्धि भएको भए, यो परिवर्तन सकारात्मक मान्न सकिन्थ्यो। कृषिमा क्रान्ति, औद्योगीकरण, जलस्रोत र प्राकृतिक सम्पदाको अधिकतम उपयोग, विज्ञान र प्रविधिको विकास, स्थायी रोजगारीको व्यवस्था भएको भए देश समृद्धिको बाटोमा हुन्थ्यो। तर, मेहनती जनताको जीवनस्तर खस्किँदै गयो, परनिर्भरता बढ्यो, र देश अधोगतितर्फ धकेलियो। शासकवर्गको चमत्कारिक समृद्धि नै देशको दुर्दशाको मुख्य कारण बनेको छ।

CG Motors
Muktinath Bikas Bank Limited

सुशासनको सपना र वास्तविकता

देशमा सुशासन र समृद्धिको नारा लेखिए, मिठा भाषण र जनतालाई झुक्याउने शब्दजाल बुने। सरकारका गैरजिम्मेवार र खलनायकी गतिविधिको आलोचना गर्ने वा सुझाव दिनेलाई शत्रु ठानियो। सामन्ती सोच, अनैतिक धन आर्जन र विलासी जीवनशैलीले पहिलेका राजा-महाराजाहरुको जीवनशैलीलाई पनि पछाडि छोड्यो। वर्तमान सरकार, जसमा केही स्वच्छ छविका व्यक्तिहरु पनि छन्, त्यसका गतिविधिहरु पनि सन्तोषजनक छैनन्। इमानदारलाई सजाय र चोरलाई संरक्षण दिने परिपाटीले निरन्तरता पाइरहेको छ। भ्रष्ट संयन्त्र र गैरजिम्मेवार शासकहरुबाट देश सुध्रने आशा हराउँदै गएको छ।

अबको बाटो

देश विकासका लागि पहिलो शर्त हो– मानवीय आचरण, नैतिकता, इमानदारी, राष्ट्रप्रेम, सिर्जनशील सोच र स्पष्ट दृष्टिकोण। संविधान, कानुन र नीति त त्यसपछिका साधन मात्र हुन्। इमानदारी र नैतिकता बिना बनेको उत्कृष्ट संविधान पनि बेकार हुन्छ। सुन्दर बगैंचालाई बाँदरले क्षणभरमै ध्वस्त पार्न सक्छ। अत्याचारीले सधैं सज्जनलाई दुख दिन्छ। चोरले विश्वकै सम्पत्ति लुट्न सक्छ। मिठा नारा र भाषणले देश बन्दैन। चिनीको मिठासमा रमाउँदा सुगर रोग लागेझैं, ठगका मिठा सपनामा लट्ठिएर जनता र देश उपनिवेशतर्फ धकेलिँदैछ।

अब हामीले कसैको मिठो नारा र चालबाजीमा नलागी, राष्ट्रप्रेमी र इमानदार नेपालीहरु एकजुट भएर देश रुपान्तरणको स्पष्ट खाका तयार गर्नुपर्छ। आधुनिक प्रविधिको उपयोग गरी हाम्रा स्रोत-साधन र सम्पदाको अधिकतम सदुपयोग गरेर छोटो समयमै समृद्धि हासिल गर्नुपर्छ। यो जिम्मेवारी हाम्रै काँधमा छ।

-नागार्जुन १, काठमाडौं

पर्यटन व्यवसायी

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.