काठमाण्डौ । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान इन्जिनमा समस्या आएपछि शुक्रबार दिउँसो आकस्मिक रूपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ।
गौतमबुद्ध विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार, दुई बालबालकासहित ८२ जना यात्रु बोकेको विमानमा हाइड्रोलिक समस्या देखिएपछि पाइलटले सुरक्षाका दृष्टिले करिब १२ बजे भैरहवामा आपतकालीन अवतरण गरेको हो।
‘विमानमा हाइड्रोलिक समस्या आएको सूचनापछि तुरुन्तै उद्धार टोली परिचालन गरियो। सबै यात्रु सुरक्षित छन्,’ राउतले बताए। उनका अनुसार यात्रुलाई अर्को विमानमार्फत काठमाडौं पठाउने तयारी भइरहेको छ।
राउतका अनुसार, उक्त घटनाका कारण केही समय आन्तरिक उडान प्रभावित भए पनि अहिले विमानस्थलको नियमित सञ्चालन पुनः सुरु भइसकेको छ।
श्री एयरलाइन्सको प्राविधिक टोली काठमाडौंबाट भैरहवा पुग्नेक्रममा रहेको र विमानको विस्तृत प्राविधिक परीक्षणपछि मात्र समस्या पुष्टि हुने जनाइएको छ।

