काठमाण्डौ । राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफा ४५.२० प्रतिशतले घट्न पुगेको छ ।
आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार राष्ट्रिय स्तरका ८ विकास बैंकले ७८ करोड ३४ लाख ५४ हजार रुपैयाँ कुल नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ४५.२० प्रतिशत कम हो ।
गत आवको सोही अवधिसम्म विकास बैंकहरुले १ अर्ब ४२ करोड ९५ लाख रुपैयाँ नाफा कमाएका थिए ।
विकास बैंकहरुको रिर्पोटमा जेनजी आन्दोलन र त्यसपछि सुस्त बनेको आर्थिक क्रियाकलापको सोझो प्रभाव देखिएको छ । जेनजी आन्दोलनले क्षति पुर्याएपछि र लगत्तै दशैंतिहारको लामो विदाले ऋण असुली प्रभावित हुँदा बैंकहरुको नाफामा संकुचन देखिएको हो ।
८ विकास बैंकमध्ये लुम्बिनी विकास बैंकले सो अवधिसम्म ३४ करोड ८५ लाख रुपैयाँ घाटा ब्यहोर्दा विकास बैंकहरुको समग्र नाफा घट्न पुगेको देखिन्छ ।

यसबाहेक गत वर्षको तुलनामा ७ बैंकमध्ये तीनको नाफा ह्वात्तै घटेकाले समग्र नाफा प्रभावित हुन पुगेको हो ।
पहिलो त्रैमाससम्म सबैभन्दा बढी नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ । बैंकले सो अवधिसम्म २५ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ११.१२ प्रतिशत बढी हो ।
त्यस्तै, मुक्तिनाथ विकास बैंकले सो अवधिसम्म २२ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा २०.२४ प्रतिशत कम हो ।
त्यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २० करोड ३० लाख, कामना सेवा विकास बैंकले १९ करोड ७५ लाख, महालक्ष्मी विकास बैंकले ९ करोड ७५ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले ८ करोड ८२ लाख र ज्योति विकास बैंकले ७ करोड ३ लाख रुपैयाँ नाफा कमाएका छन् ।
गत आवको सोही अवधिको तुलनामा सबैभन्दा बढी नाफा ग्रोथ गर्नेमा सांग्रिला डेभलपमेन्ट बैंक रहेको छ । यो बैंकको नाफा ४६.५८ प्रतिशतले बढेको छ ।
इपीएस कुनको कति ?

करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । राष्ट्रिय स्तरका ८ विकास बैंकमध्ये ७ वटाको इपीएस धनात्मक रहेको छ भने लुम्बिनी विकास बैंकको इपीएस ९.६२ रुपैयाँ ऋणात्मक छ । साथै तीन बैंकको इपीएस गत आवको तुलनामा घटेको छ भने चार बैंकको बढेको छ ।
सबैभन्दा धेरै इपीएस कामना सेवा विकास बैंकको २०.४६ रुपैयाँ छ भने सबैभन्दा थोरै ज्योति विकास बैंकको ६.४० रुपैयाँ रहेको छ ।
एनपीएल सबैको बढ्यो

राष्ट्रिय स्तरका विकास बैंकहरु सबैको निस्क्रिय कर्जा अनुपात (एनपीएल)बढेको छ ।
जेनजी आन्दोलनको प्रभावले ऋणिले पैसा तिर्न नसकेपछि बैंकहरुको खराब कर्जा बढ्न पुगेको छ । सबैभन्दा धेरै एनपीएल लुम्बिनी विकास बैंकको ७.७८ प्रतिशत रहेको छ ।
त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंकको एनपीएल पनि ५ प्रतिशतभन्दा माथि रहेको छ ।
दुई बैंकको लाभांश क्षमता ऋणात्मक

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार दुई विकास बैंकको वितणयोग्य मुनाफा ऋणात्मक देखिएको छ । बैंकहरुले विवरणमा खुद मुनाफाको केही प्रतिशत रकम वितरणयोग्य मुनाफा भनेर छुट्याएका हुन्छन् ।
रिपोर्टअनुसार ज्योति विकास बैंक र लुम्बिनी विकास बैंकको वितरणयोग्य मुनाफा वा लाभांश क्षमता ऋणात्मक देखिएको छ । यी बैंकहरुले चौथो त्रैमासिकसम्म पनि वित्तीय विवरणमा केही सुधार गरेमा मात्रै लगानीकर्ताहरुले लाभांश पाउने सक्ने सम्भावना रहन्छ ।
सबैभन्दा धेरै लाभांश क्षमता मुक्तिनाथ विकास बैंकको १४.३८ प्रतिशत रहेको छ । सो अवधिसम्म बैंकले १ अर्ब २२ करोड ४९ लाख रुपैयाँ वितरणयोग्य मुनाफा गरेको छ ।

