काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा बुङ्गल हाइड्रो लिमिटेडको आईपीओसहितको सेयर सूचीकृत भएको छ । आज नेप्से र कम्पनीबीच प्रतिसेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको कुल ८३ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।
कम्पनीले सर्वसाधारणसमक्ष हिमालयन क्यापिटल (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत गत भदौ १६ गतेदेखि १९गतेसम्म आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको थियो ।
यसरी सर्वसाधारण लगानीकर्तामा वितरण गरिएको २९ लाख ५ हजार कित्ता र संस्थापक सेयरधनीहरुमा वितरण गरिएको ५३ लाख ९५ हजार कित्ता गरी जम्मा ८३ लाख कित्ता साधारण सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम कात्तिक १९ गतेको निर्णयानुसार नेप्सेमा सूचीकरण गरिएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको आईपीओ भोलिदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
नेप्सेले कम्पनीको सेयर दोस्रो बजार कारोबारका लागि कम्पनीलाई ‘BUNGAL’संकेत प्रदान गरेको छ । नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता १००.८८ रुपैयाँ र ३०२.६४ रुपैयाँ ओपनिङ रेञ्ज दिएको छ ।

