काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनको तयारीबीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज उपलब्धता सुनिश्चित गर्न सार्वजनिक बिदाका दिनमा पनि आफ्ना विभिन्न प्रादेशिक कार्यालय तथा डिपो खुला राख्ने निर्णय गरेको छ।
सरकारले २०–२२ फागुनसम्म देशभर सार्वजनिक बिदा दिने निर्णय गरेसँगै, निगमले मतदाता र आम नागरिकलाई इन्धनको अभाव नहोस् भनी विशेष व्यवस्थाको तयारी गरेको हो।
निगमका अनुसार, कोशी प्रादेशिक कार्यालय (विराटनगर) २२ र २४ गते, मधेश प्रादेशिक कार्यालय (अमलेखगञ्ज) १९, २० र २३ गते खुला रहनेछन्। त्यस्तै, बाग्मती प्रादेशिक कार्यालय (थानकोट) १८, २० र २३ गते, गण्डकी प्रादेशिक कार्यालय (पोखरा) २०, २३ र २४ गते सञ्चालनमा रहने व्यवस्था मिलाइएको छ।
अर्कोतर्फ, लुम्बिनी प्रादेशिक कार्यालय (भैरहवा) १७, १८, २० र २३ गते, कर्णाली (सुर्खेत) १८ र २० गते, र सुदूरपश्चिम (धनगढी) १९, २० र २२ गते खुला रहनेछन्।
अन्य डिपो र शाखा कार्यालयहरु पनि सार्वजनिक बिदाका दिनहरूमा सञ्चालन हुनेछन्, जसमा धनुषा महेन्द्रनगर इन्धन डिपो (२२, २४ गते), नेपालगञ्ज डिपो (२०, २२ गते ), झापा चारआली शाखा (२२, २४ गते ), र वीरगञ्ज शाखा कार्यालय (२०, २२, २३, २४ गते) सञ्चालन हुनेछन् ।

