काठमाण्डौ । सन् २०२६ मा हुने २३औँ फुटबल विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण हुने तयारीमा छ। पहिलो पटक ४८ टोली सहभागी हुने यस प्रतियोगितामा अमेरिका, क्यानडा र मेक्सिकोका विभिन्न सहरमा सयभन्दा बढी खेल सञ्चालन हुनेछन्। तर प्रतियोगिता विस्तारसँगै टिकट मूल्यमा भएको तीव्र वृद्धि भने विश्वभरका फुटबल समर्थकबीच विवादको विषय बनेको छ।
युरोपका समर्थक समूह ‘फुटबल सपोर्टर्स–युरोप’ ले टिकट मूल्य वृद्धिलाई “लुट” भन्दै आलोचना गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफामाथि खेललाई जनसाधारणबाट टाढा बनाएको आरोप लागिरहेको छ।
विस्तारको रणनीति र फिफाको तर्क
यूकेको पोर्ट्समाउथ विश्वविद्यालयकी खेल वित्त विशेषज्ञ डा. क्रिस्टिना फिलिप्पोका अनुसार फिफाको मुख्य उद्देश्य विश्वभर फुटबलको विस्तार गर्नु हो। विशेष गरी फुटबल प्रमुख खेल नभएका देशहरूमा यसको लोकप्रियता बढाउने लक्ष्यका साथ टोली संख्या ३२ बाट ४८ पुर्याइएको हो।
उनका अनुसार बढी देश सहभागी हुँदा फुटबलप्रति विश्वव्यापी आकर्षण बढ्ने अपेक्षा गरिएको छ। तर समर्थकहरूको अपेक्षा विपरीत खेल संख्या बढ्दा टिकट सस्तो हुने ठाउँमा झन् महँगो बनेको देखिएको छ।
टिकट मूल्य ३–५ गुणासम्म महँगो
टिकट बिक्री सुरु भएपछि समर्थकहरू निराश भएका छन्। डा. फिलिप्पोका अनुसार कतिपय खेलका सबैभन्दा सस्ता टिकटसमेत अघिल्ला विश्वकपको तुलनामा ३ देखि ५ गुणासम्म महँगा छन्।
सामान्यतया सबैभन्दा सस्तो मानिने ‘क्याटेगोरी–४’ टिकट पनि अन्तिम चरणका खेलका लागि अत्यन्त सीमित र महँगा छन्। धेरै टिकट त सर्वसाधारणका लागि खुल्नुअघि नै बिक्री भइसकेका छन्।
यसपटक प्रतियोगिता तीन देशमा फैलिएकाले समर्थकलाई यात्रा र बसोबास खर्च पनि ठूलो भार बनेको छ। एउटै टोलीका सबै समूह खेल हेर्न चाहने समर्थकले लामो दूरी यात्रा गर्नुपर्ने अवस्था छ।
‘डायनामिक प्राइसिङ’ को प्रभाव
अमेरिकाको कलेज अफ द होली क्रसका अर्थशास्त्री डा. विक्टर म्याथेसनका अनुसार फिफाले ‘डायनामिक प्राइसिङ’ मोडेल अपनाएको छ। यस प्रणालीमा मागअनुसार टिकट मूल्य निरन्तर बढ्न वा घट्न सक्छ-जसरी विमान टिकटको मूल्य बदलिन्छ।
उनका अनुसार टिकट मूल्य वृद्धि केवल मुद्रास्फीतिका कारण होइन, माग व्यवस्थापन रणनीतिको परिणाम पनि हो। इंग्ल्यान्ड, अमेरिका र क्यानडाका खेल, उद्घाटन, एलिमिनेसन र फाइनल खेलका टिकट विशेष महँगा राखिएका छन्। न्यूयोर्क, लस एन्जलस र सान फ्रान्सिस्कोजस्ता पर्यटकीय सहरमा हुने खेल अझ महँगा छन्।
फिफाले टिकट पुनःबिक्री (रिसेल) पनि आफ्नै आधिकारिक प्लेटफर्मबाट मात्र हुने व्यवस्था गरेको छ र उच्चतम मूल्य सीमा तोकेको छैन, जसले आलोचना थप बढाएको छ।
आम्दानीको प्रयोगबारे फिफाको बचाउ
यूकेको लफबरो विश्वविद्यालयका खेल व्यवस्थापन विज्ञ डा. योहान रेभिलाकका अनुसार विश्वकप टिकट र टेलिभिजन अधिकारबाट आएको रकम फिफाले विश्व फुटबल विकासमा खर्च गर्न सक्छ।
फिफाले आफूले एक अर्ब डलरभन्दा बढी रकम विश्वभर फुटबल पूर्वाधार सुधारमा लगानी गरिसकेको दाबी गरेको छ। २०२६ विश्वकपबाट हुने करिब १.५ अर्ब डलर आम्दानीको ठूलो हिस्सा पनि विकास कार्यक्रममै खर्च गरिने बताइएको छ।
फिफाको भनाइमा, संस्था गैर–नाफामूलक भएकाले प्राप्त रकम २११ सदस्य देशमा पुरुष, महिला र युवा फुटबल विकासमा प्रयोग गरिन्छ।
नैतिक बहस: खेल कसका लागि?
यूकेको ‘इन्डिपेन्डेन्ट’ का प्रमुख फुटबल लेखक मिगुएल डिलेनीले भने फिफाको टिकट नीति नैतिक प्रश्न भएको टिप्पणी गरेका छन्। उनका अनुसार फुटबल सबै समुदायलाई जोड्ने खेल हो, तर अत्यधिक महँगो टिकटले यसलाई धनी समर्थकको पहुँचमा सीमित पार्ने जोखिम छ।
उनले चेतावनी दिएका छन् कि यदि निष्ठावान समर्थक स्टेडियम पुग्न नसक्ने भए फुटबल र दर्शकबीचको सम्बन्ध कमजोर हुन सक्छ, जसले भविष्यमा युवा पुस्ताको आकर्षणसमेत घटाउन सक्छ।
समर्थकको विकल्प: बजेट बढाउने कि टिभी हेर्ने?
समग्रमा हेर्दा २०२६ विश्वकप अघिल्लो संस्करणभन्दा धेरै महँगो अनुभव बन्ने देखिन्छ। टिकट मूल्य वृद्धि, बहुराष्ट्रिय आयोजना र यात्रा खर्चका कारण प्रत्यक्ष खेल हेर्नु धेरै समर्थकका लागि कठिन हुने अनुमान गरिएको छ।
फिफा भने उच्च आम्दानीबाट विश्व फुटबल विकास हुने दाबीमा अडिग छ। तर आलोचकहरू प्रश्न गरिरहेका छन्: के अत्यधिक महँगो टिकटले विश्वकपलाई आम समर्थकबाट टाढा धकेल्दै फिफाले आफ्नै पोस्टमा ‘सेल्फ गोल’ त हानेको होइन?
-बीबीसीबाट

