काठमाण्डौ । आँखु खोला जलविद्युृत कम्पनी लिमिटेडको नाफामा सामान्य सुधार आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ३ करोड ८३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा खुद नाफामा १३.८२ प्रतिशतले बढी हो ।
अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ३ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
तेस्रो त्रैमाससम्म कम्पनीको विद्युत बिक्री आम्दानी पनि वृद्धि भएको छ । कम्पनीले बिद्युत बिक्रीमार्फत १७ करोड २८ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३१.९४ प्रतिशतले बढी हो । कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च ६४ लाख १३ हजार रुपैयाँ र साधारण तथा वितरण खर्च ३ करोड रुपैयाँ रहेको छ ।
यो अवधिमा कम्पनीको वित्त आम्दानी घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १ करोड ११ लाख रुपैयाँबराबरको वित्त आम्दानी गरेको कम्पनीले समीक्षा अवधिमा भने ८९ लाख ६८ हजार मात्रै वित्त आम्दानी गरेको छ ।
यद्यपी कम्पनीको वित्त खर्च भने घटेको छ । अघिल्लो आवमा ६ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको वित्त खर्च घटेर ४ करोड ६७ लाखमा सीमित बनेको छ ।
कम्पनीको कुल चालु सम्पत्ति ३६ करोड १५ लाख र कुल चालु दायित्व १२ करोड २७ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२.५६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ,मूल्य आम्दानी अनुपात १५७ गुणा र तरलता अनुपात २.९५ प्रतिशत कायम छ ।

