काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा आफ्ना कर्मचारीहरुलाई पौने १५ करोड रुपैयाँ तलब वितरण गरेको छ । कम्पनीले आव २०८०/८१ मा कार्यरत कर्मचारीहरुलाई कुल १४ करोड ८५ लाख ४१ हजार रुपैयाँ तलब वितरण गरेको हो ।
यो वितरित तलब अघिल्लो आवको तुलनामा २०.४४ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले कार्यरत कर्मचारीलाई कुल १२ करोड ३३ लाख ३६ हजार रुपैयाँ तलब वितरण गरेको थियो ।
त्यस्तै, कम्पनीले भत्ता समेत १४.०१ प्रतिशतले बढाएको छ । अघिल्लो आवमा १५ करोड २३ लाख रुपैयाँ भत्ता बाँडेको यस कम्पनीले गत आवमा भने १७ करोड ३७ लाख रुपैयाँ भत्ता वितरण गरेको छ ।
यता चाडपर्व भत्ता समेत कम्पनीले २७.०७ प्रतिशतले बढाएको छ । अघिल्लो आवमा ९७ लाख ९० हजार रुपैयाँ मात्रै चाडपर्व भत्ता बाँडेको नेशनल लाइफले चालु आवमा भने १ करोड २४ लाख ४० हजार रुपैयाँ चाडपर्व भत्ता बाँडेको छ ।
कम्पनीले कर्मचारीको तलब र भत्ता बृद्धि गरेपनि बोनस भने सामान्य मात्रै बढाएको छ । कम्पनीले सो आवमा कर्मचारी बोनसका लागि १० करोड ४० लाख रुपैयाँ खर्च गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा जम्मा ०.२३ प्रतिशत बढी हो । अघिल्लो आवमा भने कम्पनीले कर्मचारी बोनसका लागि १० करोड ३७ लाख ५८ हजार रुपैयाँ खर्चेको थियो ।
यसका साथै कर्मचारी उपदान शिर्षकमा २ करोड ३ लाख रुपैयाँ, सामाजिक सुरक्षा कोषमा १ करोड ४७ लाख, विदा भत्तामा ६० लाख ९२ हजार, तालिम खर्चमा ७५ लाख ८९ हजार, युनिफर्ममा १ लाख ५१ हजार, कर्मचारीको बीमामा ८८ लाख २९ हजार र अन्य सुविधामा ६४ लाख १९ हजार गरी कर्मचारीको सेवा सुविधाका लागि कुल ५० करोड २९ लाख १९ हजार रुपैयाँ खर्च गरेको छ ।
यो रकम अघिल्लो आवको तुलनामा १२.६४ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले यस्ता विभिन्न शीर्षकमा ४४ करोड ६५ लाख २ हजार रुपैयाँ खर्च गरेको थियो ।