काठमाण्डौ । विकास बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंक वित्तीय सूचकका आधारमा बलियो मानिन्छन् ।
दुबै बैंकको बलियो पूँजीसँगै नाफा, कर्जा लगानी, आम्दानी, जगेडा कोष लगायतका विभिन्न सूचक अब्बल देखिन्छन् ।
आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमासिक वित्तीय विवरणको आधारमा यी दुई बैंकको वित्तीय सूचकलाई आधार मानेर गरिएको तुलनात्मक अध्ययनमा दुबैको अवस्था राम्रो देखिन्छ ।
धितोपत्र दोस्रो बजारमा सेयरमा लगानी गर्नका लागि यी दुबै बैंक उपयुक्त हुन सक्छ । दीर्घकालिन लगानीका लागि झनै यी दुबै बैंक उचित हुन सक्छ । सुरक्षित र दीर्घ लगानीमा प्रतिफलका लागि गरिमा र मुक्तिनाथ दुबै उपयुक्त छन् ।

चालु आवको तेस्रो त्रैमाससम्म विकास बैंकहरुमध्ये यी दुई बैंकले सर्वाधिक नाफा कमाउन सफल भएको छ । गरिमा विकास बैंकले तेस्रो त्रैमाससम्म एक अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको छ भने मुक्तिनाथले ९४ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ ।
गत आवको तुलनामा मुक्तिनाथको नाफा ४२.९१ प्रतिशत वृद्धि भएको छ भने मुक्तिनाथको नाफा ३०.०४ प्रतिशत बढेको छ । दुबैको ब्याज आम्दानीमा सुधार देखिदा नाफा वृद्धिमा टेवा पुगेको देखिन्छ । ब्याज आम्दानी मुक्तिनाथको ४.८७ प्रतिशत वृद्धि भएको छ भने गरिमाको पनि ४.८७ प्रतिशत नै वृद्धि भएको छ ।
इम्पेयरमेन्ट चार्ज मु्क्तिनाथ विकास बैंक २४.९७ प्रतिशत घटेर ९२ करोड ५७ लाख रुपैयाँ कायम भएको छ भने गरिमाको ६.८६ प्रतिशत बढेर ३ अर्ब २३ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।
यता कर्जा लगानीमा भने गरिमा भन्दा मुक्तिनाथ अब्बल देखिएको छ । मुक्तिनाथले सो अवधिसम्म ३.०७ प्रतिशत बढाएर ९ अर्ब ८९ करोड ७९ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ भने गरिमाले १०.३९ प्रतिशत बढाएर ७ अर्ब ६२ करोड २९ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ ।
तर सेयर, बन्ड, ऋणपत्र वा अन्य सम्पत्तिमा गरिएको लगानीमा भने गरिमा अगाडी देखिएको छ । गरिमाले यस्तो क्षेत्रमा १८ अर्ब ५१ करोड २६ लाख रुपैयाँ लगानी गरेको छ भने मुक्तिनाथले १६ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ लगानी गरेको छ ।
नाफा दुबैको वृद्धि भएपनि वितरणयोग्य मुनाफा भने गरिमाको बढ्दा मुक्तिनाथको घटेको छ । गरिमाको यस्तो मुनाफा गत आवको तुलनामा ७८.९६ प्रतिशत बढेको छ भने मुक्तिनाथको २९.१६ प्रतिशत घटेको छ ।
त्यस्तै, इपीएस, बुकभ्यालु, आरओई, पीई रेसियो र लाभांश क्षमतामा समेत मुक्तिनाथ भन्दा गरिमा अब्बल देखिएको छ । साथै एनपीएल पनि मुिक्तनाथको भन्दा गरिमाको अवस्था राम्रो देखिएको छ ।
नोट : यो अध्ययन केवल दुई बैंकबीचको तुलनात्मक विश्लेषण मात्रै हो । कारोबारको लागि सिफारिस होइन ।

